प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेश विजयी

साझाकुरा
२०७८ पुष २९, बिहीबार १७:४४

लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई पराजित गर्दै प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यसअघि लुम्बिनी आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग ४९ रनले पराजित भएको थियो।

प्रदेश नं २ को भने तीन खेलमा दोस्रो पराजय हो । यसअघि प्रदेश नं २ ले पहिलो खेल सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग २४ रनले हारेको थियो । तर दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको थियो।

खेलमा लुम्बिनीले प्रदेश नं २ लाई १६२ रनको बलियो लक्ष्य दिएको थियो । जवाफमा प्रदेश २ को २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रनमा समेटियो। प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे। हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । लुम्बिनीका ओपनर देव खनालले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५४ रनको योगदान दिए।

त्यसैगरी सन्दीप रजाली र बशिर अहमदले समान ३०-३० रनको योगदान दिए भने सुशान्त थापाले १४ रन बनाए। सौरभ खनालले १०, कृष्ण कार्की १, विक्रम भुसाल ५ रन जोड्दा दुर्गेश गुप्ता, मोहन क्षेत्री र सिद्धान्त शाहीले खाता खोल्न सकेनन्।

प्रदेश २ का विवेक यादव र रुपेश सिंहले २-२ विकेट लिए भने हरिशंकर शाह, महबुब आलम र विशाल शुस्लिङले एक विकेट झारे। (रासस)

यसमा तपाइको मत

Your email address will not be published.


*