कांग्रेसमा एक व्यक्ति, एक कार्यकाल हुनुपर्ने सहमहामन्त्री पाण्डेको दाबी

साझाकुरा
२०७८ माघ ३, सोमबार ११:००

हेटौंडा-नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले कांग्रेसको विधानमा नेतृत्वमा एक व्यक्ति एक कार्यकाल मात्र रहने व्यवस्था लागू गर्नुपर्ने दाबी गरेका छन् ।  आइतबार हेटौंडामा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै सहमहामन्त्री पाण्डेले एक व्यक्तिले मात्र पार्टीको नेतृत्व गर्दा नयाँ पुस्ताहरु राजनीति बाट पलायन हुने अवस्था सृजना हुने भएकोले कुनैपनि पदमा एक कार्यकाल मात्र रहने व्यवस्था लागू गर्नुपर्ने तर्क राखेका थिए ।  उनले कांग्रेसको १४ औं महाधिवेशन अन्तिम समयमा मात्र बाध्य भएर गर्नु परेको भन्दै पार्टीको यो अवस्थाले आम कार्यकर्ता र नागरिकमा गलत सूचना प्रवाह हुने बताए । पार्टीले आफ्नो निश्चित कार्यकाल भित्रै महाधिवेशन गरेर नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने भएपनि कांग्रेसको १४ औं महाधिवेशनमा पनि त्यसो हुन नसकेको गुनासो गरे ।
उनले पार्टीलाई एकढिक्का बनाउन नेतृत्व पंक्तिले विधि विधानलाई कुल्चने काम गर्न नहुने र कार्यकर्ताहरुले पनि अनुशासित ढंगबाट अघि बढ्नुपर्ने बताए । २०७४ को हारबाट सिकेर आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी एकजुट भएर जनताको हितमा काम गर्नुपर्ने बताउँदै त्यसतर्फ केन्द्रीत हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।  अन्य पार्टीको भन्दा कांग्रेसले लोकतान्त्रिक पद्धतीलाई कार्यान्वयन गरेको भएपनि त्यो पर्याप्त हुन नसकेको उनको भनाई छ । कांग्रेसले लोकतान्त्रिक पद्धतीमा पनि समय अनुकुल सुधार गर्दै जानुपर्ने र मितव्ययी निर्वाचन प्रक्रिया बनाउन पहल गर्नुपर्ने उनको धारणा थियो । नेपालको राजनीतिमा कम्युनिष्टहरु भन्दा कांग्रेस निकै पुरानो शक्ति भएकाले वर्तमान राजनीति परिवर्तनमा पनि अगुवाको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

सह–महामन्त्री पाण्डेले हाल नेपालमा जनताको सेवा गर्न भनेर गएका मन्त्रीहरु आफैँ कमाउ धन्दामा लाग्दा राजनीति व्यापार बन्न गएको बताउँदै राजनीति व्यवसाय नभई सेवा भएकाले पहिले आफ्नो आर्थिक स्थिति सबल हुने प्रकृतिको व्यवसायमा लागेर मात्र राजनीतिमा आउन सुझाव दिए ।  सहमहामन्त्री पाण्डेलाई कांग्रेस मकवानपुरका उपसभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदीप कोइराला, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीलगायतका नेता तथा कार्यकर्ताले बधाई ज्ञापन गर्दैै कांग्रेसको संगठन मजबुद बनाउँदै देश र जनताप्रति थप उत्तरदायी भएर कांग्रेस अघि बढ्न सुझाव दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*