प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

साझाकुरा
२०७८ माघ ३, सोमबार १३:३५

काठमाडौ‌ं-प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश १ लाई पराजित गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो। सो लक्ष्य पुलिसले १३ दशमलब एक ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए। भुर्तेलले २८ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे। त्यसैगरी अनिल साहले २६ तथा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए।

बलिङतर्फ प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । प्रदेश १ का लागि मिनास थापाले सर्वाधिक ५९ रनको योगदान दिए । श्रवण यादवले १० रन बनाए। बलिङतर्फ पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र मञ्जीत श्रेष्ठले दुई–दुई तथा करण केसी र सागर ढकालले एक–एक विकेट लिए। (रासस)

यसमा तपाइको मत

Your email address will not be published.


*