मकवानपुरमा प्रभावकारी, प्रदेशका विकटमा टिकेनन् ‘विद्यालय नर्स’

साझाकुरा
२०७८ माघ ४, मंगलवार १३:१८

हेटौंडा÷मकवानपुरका १० वटै स्थानीय बागमती प्रदेश सरकारको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम तहमा प्रभावकारी  बनिरहेको छ ।जिल्लास्थित मावि तहका सामुदायिक विद्यालयमा खटिएका विद्यालय नर्सहरुका कारण विद्यार्थीमा आमुल परिवर्तन आएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । मकवानपुरका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, बकैया, बागमती, भीमफेदी, मनहरी,  राक्सिराङ, कैलाश, इन्द्रसरोबर गाउँपालिकामा तीन–तीन जना विद्यालय नर्स खटिएका छन् । उनीहरुले विद्याथीहरुको समग्र स्वास्थ्य, सरसफाई, पोषण, मानसिक स्वास्थ्य, किशोरकिशोरीमा प्रजनन स्वास्थ्य प्रवद्र्धन तथा सरुवा र नसर्ने रोगबारे स्वस्थ जीवनयापनमा उत्प्रेरणा जगाइरहेका छन् ।

मकवानपुरगढी गाउँपालिकामा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बनेको स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार मकवानपुरगढीको शारदा, भानु र बंशगोपाल माविमा विद्यालय नर्सले विद्यार्थीलाई स्वास्थ्य शिक्षाबारे सचेतना जगाइरहेका छन् ।  नर्सहरुले विद्यार्थीलाई जंक फुड खान रोक लगाउनेदेखि प्रजनन स्वास्थ्य, सरसफाइ र आधारभूत स्वास्थ्य क्षेत्रको विषयमा चेतना फैलाउँदा आमविद्यार्थीको जीवन शैलीमा परिवर्तन देखिएको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताए ।

मकवानपुरगढीमा मात्र नभई मकवानपुरको दुर्गम  राक्सिराङ र कैलाश गाउँपालिकामा पनि ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी रहेको छ । राक्सिराङका स्वास्थ्य शाखा प्रमुख विजय कपारीले विद्यार्थीहरुको स्वास्थ्य शिक्षामा प्रगति आएको बताए । राक्सिराङमा प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयबाट छनौट भएका तीन जना विद्यालय नर्समध्ये २ जनाले मात्रै काम गरिरहेका छन् । एक जना नर्सले छनौट भएपछि भौगोलिक अवस्था हेरेर पुनः विद्यालयमा नफर्किएको कपारीले बताए । राक्सिराङ–४ कालिका माविमा ती नर्स छनौट भएकी थिइन् ।

कैलाश गाउँपालिकामा ३ जना विद्यालय नर्स कार्यरत  रहेका छन् । यसैगरी, बागमती गाउँपालिकामा पनि छनौट भएका तीन जना नर्समध्ये हाल २ जना मात्रै कार्यरत छन् । विद्यालय नर्स पासाङ डोल्मा मोक्तान वैदेशिक  रोजगारीका लागि युएई गएको स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ताले जानकारी दिए । मनहरी गाउँ– पालिकामा हाल २ जनामात्रै विद्यालय नर्स कार्यरत् छन् । एक नर्स अध्ययनका लागि भन्दै जागिर छोडेको स्वास्थ्य शाखा प्रमुख टिकाराम अधिकारीले जानकारी दिए ।

इन्द्रसरोबर गाउँपालिकामा पनि ३ जना विद्यालय नर्स कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले बताए । मकवानपुरका अधिकांश पालिकामा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी भएता पनि बागमती प्रदेशको विकट क्षेत्रमा भने समस्या देखिएको छ । गाउँगाउँमा स्वास्थ्य शिक्षा पु¥याउने उद्देश्यसहित बागमती प्रदेश सरकारले बितेको आर्थिक वर्ष २०७६÷०७७ मा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम कार्यान्वयनमा ल्गाएको थियो । त्यसयता ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमले निरन्तरापनि पाइरहेको छ ।

कार्यक्रम निरन्तर सञ्चालन भइरहेपनि विद्यालय नर्सको प्रभावकारिता विकटमा नभई सुगम क्षेत्रमा मात्रै सीमित रहेको छ । प्रदेशका अधिकांश जिल्लाको विकट क्षेत्रमा विद्यालय नर्स कार्यक्रम  कार्यान्वयनमा आउन नसक्दा प्रदेशको स्वास्थ्य मन्त्रालयलाई चुनौती सामना गरिरहनु परेको छ । तत्कालीन सामाजिक विकास मन्त्रालयबाट सञ्चालित विद्यालय नर्स कार्यक्रम मन्त्रालय विभाजन भएसँगै हाल स्वास्थ्य मन्त्रालयले हेरिरहेको छ । आव २०७६÷०७७ मा प्रदेशका १ सय १९ स्थानीय तहमा एक जनाका दरले र थप एक गरी १ सय २० जना विद्यालय नर्स भर्ना भएका थिए ।

गत आव २०७७÷०७८ मा प्रदेश सरकारले प्रत्येक स्थानीयमा १–१ जना विद्यालय नर्स थपेको थियो भने २ सय ३८ जना विद्यालय नर्समध्ये ५० भन्दा बढी विद्यालय नर्स विकट क्षेत्रमा खटिएका थिए । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ५० जनाभन्दा बढी विद्यालय नर्स नै टिक्न सकेनन् । धादिङ, काभ्रे, चितवन, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा, नुवाकोटका विकट क्षेत्रमा खटिएका विद्यालय नर्सहरु नटिकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताए ।

उनका अनुसार विद्यालय नर्सहरु छोटो समय विकट क्षेत्रमा गएर काम गरेपनि निश्चित समयभने टिक्न नसकेका हुन् । ‘विकट क्षेत्रमा खटाइएका ५० जना भन्दा बढी नर्सले केही समय काम गरेर राजिनामा दिएर हिँडेको पाइयो । ‘सुगम क्षेत्रमा खटिएका नर्सहरु हालसम्म पनि काम गरिरहेका छन् । विकटमा खटिएकाहरु लामो समय सम्म टिकेनन् ।’ प्रवक्ता अधिकारीले भने । उनले विकटमा नियमित ओहोरदोहोर गर्न र बसोबासका लागि अप्ठेरो हुनु र अस्थायी प्रकृतिको जागिर भएकाले नर्सहरु टिक्न नसकेको बताए ।

सम्बन्धित स्थानीय तहले विद्यालय छनौट गरेर सिफारिस गरेपछि मन्त्रालयले नर्स खटाउने गरेको छ । स्थानीय तहले नै नर्सको परिचालन र तलब, भत्ता उपलब्ध गराउँदै आएका छन् । बागमतीमा १ हजार ५ सय २२ मावि तहका विद्यालय छन् । जसमध्ये ३ सय ५९ वटा मावि तहका विद्यालयमा मात्रै नर्सहरु छन् ।  १ हजार १ सय ६३ विद्यालयमा अझै नर्स पुगेका छैनन् । स्वास्थ्य मन्त्रालयले चालू आव २०७८÷ ०७९ मा विद्यालय नर्स खटाउन प्रदेशका १३ वटै जिल्लाका ९९ वटा विद्यालय छनौट गरेको छ । मन्त्रालयले थप १ सय ५६ जना विद्यालय नर्स छनौट गर्ने तयारी स्वरुप ८ माघमा परीक्षा लिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*