कोरोना संक्रमण बढेपछि गोल्डकप स्थगित

साझाकुरा
२०७८ माघ ४, मंगलवार १३:४२

हेटौंडा-मकवानपुरमा पछिल्लो समय कोरोनाको नयाँ  भेरिन्ट ओमिक्रोनको संक्रमण बढेपछि माघ तेस्रो सातादेखि हुने भनिएको शहिद स्मृति गोल्डकप स्थगित भएको छ । मकवानपुर जिल्ला फुटबल संघले सोमबार विज्ञप्ति  जारी गर्दै गोल्डकप स्थगित  गरिएको जानकारी दिएको छ । संघले १६ माघदेखि हेटौंडा–५ क्याम्पाडाँडास्थित निर्माणधीन  रंगशालामा स्थानीय तह शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने योजना अघि बढाएको थियो ।

संक्रमण बढिरहेको अवस्थामा सरकारबाटै २५ जनाभन्दा बढी भेला नहुन आग्रह भएपछि गोल्डकप स्थगित गर्नुपरेको संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए । उनले गोल्डकपको तयारी अगाडि बढाइसकेको अवस्थामा नागरिकको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै प्रतियोगिता स्थगित  गरिएको बताए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले केही दिनअघि शहिद स्मृति गोल्डकपको मिति तय
गरेको थियो । एन्फाले हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ गतेबाट २६ गतेसम्म गर्न जिल्ला फुटबल संघलाई मिति उपलब्ध गराएको  हो । फोमसलमा हुने राष्ट्रिय
स्तरको प्रतियोगिता गर्न एन्फाले समय तालिका उपलब्ध गराउने गरेको छ ।

एन्फाले मोफसलमा गर्दै  आइरहेको मुख्य ठूला ६ गोल्डकप फुटबलको मिति गरेको थियो । सम्भवतः संक्रमण फैलिरहेको अवस्थामा ती सबै गोल्डकप स्थगित हुने अवस्थामा रहेका छन् ।
मकवानपुर जिल्ला फुटबल संघले गतवर्ष स्थानीय तह शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका रुपमा हेटौंडा–१०  फरेष्ट्रि मैदानमा गोल्डकप गरेको थियो । उक्त गोल्डकपमा मकवानपुरका दशवटै स्थानीय तहले प्रायोजन गरेका थिए । हेटौंडा उपमहानगरपालिकाले १५ लाख, थाहा नगरपालिकाले १० लाख  र मकवानपुरगढी, मनहरी,  राक्सिराङ, कैलाश, बकैया, भीमफेदी, बागमती, इन्द्रसरोबर गाउँपालिकाले ५–५ लाख सहयोग गरेका थिए ।

संघले शहिद स्मृति गोल्डकपका लागि पुसमा गर्ने योजना बनाइएको जिल्ला लिग फुटबल प्रतियोगिता पनि फागुनमा सारेको थियो ।  फागुनसम्म कोरोना संक्रमण कायमै रहे जिल्ला लिगपनि सर्ने देखिएको छ । शहिद स्मृति गोल्डकप आयोजनाको मिति नजिक आइसकेकोले जिल्ला लिग गर्न नभ्याउने भन्दै फागुनमा सारिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*