जग्गा धनी बन्ने महिला बढ्दै

साझाकुरा
२०७८ माघ ५, बुधबार १३:११

हेटौंडा-मंगलबार मध्यान्ह १२ बजे मन्दिरा खनाल मालपोत कार्यालय मकवानपुरबाट खुशी हुँदै बाहिरिन् । हेटौंडा–१ निवासी खनालको नाममा हेटौंडा–१ भैरवडाँडा स्थित २ कठ्ठा जग्गा पास भएपछि जग्गा धनी बनेकी उनी खुशी देखिन्थिन् । जग्गा धनी बन्ने खनाल एक पात्र हुन् । पछिल्ला बर्षहरुमा मकवानपुरमा महिला जग्गा धनी बन्नेको संख्या बढ्दो छ । सरकारले महिलाको नाममा जग्गा पास गर्दा दर्ता शुल्कमा २५ प्रतिशत छुट हुने व्यवस्था लागू गरेपछि पारिवारिक सल्लाहमै महिलालाई जग्गा धनी बनाउने पुरुषको जमातसमेत बढेको छ । ‘मेरो नामको लालपूर्जा हात पारेपछि खुशी भएकी छु ।’ लालपूर्जा हातमा लिँदै खनालले भनिन्,

‘महिलालाई घरमा पारिवारभित्र बोलीमा मात्र होइन सम्पत्तिमा समेत अपनत्व महशुस गराउन जरुरी छ, त्यसका लागि सरकारले ल्याएको छुट व्यवस्थाले अझ सहज बनाइ दिएको छ ।’ मालपोत कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा दर्ता भएका जग्गामध्ये ४० प्रतिशत महिला धनी रहेका छन् ।  विशेषगरी रजिस्ट्रेशन शुल्कमा २५ प्रतिशत छुट गरेकाले बर्सेनि महिला जग्गा धनीको संख्या बढेको कार्यालय प्रमुख रामचन्द्र भणडरीले बताए । उनका अनुसार अघिल्लो आवमा सरकारले महिलाको नाममा रजिस्ट्रेशन पास गरेको जग्गा ३ वर्षसम्म बिक्री गर्न नपाउने कानुनी व्यवस्था गरेको  थियो । गत आवमा उक्त व्यवस्था खारेज गरिएपछि अझ संख्या बढेको भण्डारीको दाबी छ ।

अघिल्लो आव २०७६÷०७७ मा मालपोतबाट १५ हजार १४ वटा रजिस्ट्रेशन पास भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए । तीमध्ये ५ हजार ६ सय ५२ वटा अर्थात् ३४ प्रतिशत महिलाको नाम जग्गा पास भएको थियो । गत आव २०७७÷०७८ मा १५ हजार २ सय ९ वटा रजिस्ट्रेशन पासहुँदा ६ हजार १ सय १४ वटा अर्थात ४०.२० प्रतिशत महिला  छन् । एक वर्षको अन्तरालमा ६ प्रतिशतले महिला धनीको संख्या बढेको देखिन्छ । सरकारी व्यवस्थामा एकल महिला, दलित, अपांग र जनजातिले पनि रजिस्ट्रेशन शुल्कमा छुट पाउने उल्लेख छ । गत आवमा ३० दलित, ३ एकल महिला, २ अपांगता भएका व्यक्ति र ९ जना बृद्धबृद्धाले छुट व्यवस्था सेवा लिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*