बागमतीका सबै स्थानीय तहमा ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ खटाईंदै

साझाकुरा
२०७८ माघ ९, आईतवार १३:०६

हेटौंडा-बागमती प्रदेशका सबै एक सय १९ वटै स्थानीय तहका प्रत्येक वडामा ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।  बागमती सरकारले यसका लागि तयारी अघि बढाएको छ । प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस प्रदेशका ११ सय भन्दा बढी वडामा पशु स्वास्थ्यकर्मी खटाएर किसानका लागि सहज बनाउन यो कार्यक्रम गर्न लागिएको मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले बताए ।

बागमती प्रदेशमा पशुपंक्षी तथा मत्स्यमा लाग्ने रोगहरुको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले ‘एक वडा एक पशु स्वास्थ्यकर्मीको कार्यक्रम अघि सारेको उनले बताए । स्थानीय तहको वडासम्मै नै प्राविधिक सेवा विस्तार गर्न, पशु सेवालाई सहज, सरल, पहुँचयोग्य बनाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्न, ग्रामिण क्षेत्रमा पशु सेवा प्रदायक र कृषकहरु बीचको दुरी कम गर्दै पशुपंक्षी क्षेत्रको विकासको लागि ‘एक वडा एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम प्रदेशको साझा न्यूनतम कार्यक्रम लागू गर्नका लागि यसै वर्षबाट काम सुरु गर्ने गरी तयारी थालिएको सचिव पाण्डेले बताए ।

एक वडा, एक पशु स्वास्थ्य क्लिनिक स्थापनाको लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरि वडाहरु प्रस्ताव गर्न मन्त्रालयले आफ्ना मातहतका कार्यालयहरुलाई परिपत्र गरिसकेको छ । मन्त्रालयले प्रारम्भिकमा वडाहरु प्रस्तावको लागि पशु स्वास्थ्य प्राविधिक हुनुपर्ने, पशु स्वास्थ्य क्लिनिक स्थापनाको लागि वडाको आफ्नै जमिन हुनुपर्ने, पशुपंक्षी पालनको घनत्व भएको क्षेत्रको आधारमा वडाहरु प्रस्ताव गर्न मातहतका कार्यालयहरुलाई निर्देशन दिएको हो ।

कार्यक्रमबाट व्यवसायिक पशुपंक्षीपालनका आधुनिक प्रविधिमा कृषकको पहुँच पुग्नुका साथै पशु लाग्ने रोगहरुको न्यूनीकरण र निराकरण गर्न सहज हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव पाण्डेले बताए । प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यही पुस १४ गतेका दिन प्रदेशमा कृषि, पशुपंक्षी तथा मत्स्य क्षेत्रको रुपान्तरणको लागि ५१ बुँदे मार्गचित्र सार्वजनिक गरेको थियो ।

सो मार्गचित्रमा पशु स्वास्थ तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसगँको समन्वयमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा जोड दिइएको थियो । नेपाल सरकारले पशु स्वास्थ्य सेवालाई अत्यावश्यक सेवाको रुपमा घोषणा गरेको सन्दर्भमा मन्त्रालय एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनामा लागेको हो । यो वर्ष केही पशु स्वास्थ्यकर्मी राख्ने र अर्को बर्ष पुरै कार्यक्रम सञ्चालन गरिने उनले बताए । प्रत्येक वडामा स्वास्थ्यकर्मी राख्दा समस्या भएपनि दिर्घकालिन रुपमा भने किसानको हितका निम्त काम हुने उनले बताए ।

प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रममा समेटिएको ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रमलाई मन्त्रालयले आफ्नो मार्गचित्रमा पनि समावेश गरिसकेको छ । कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईंले पनि कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरणको लागि भन्दै ५१ बुँदे मार्गचित्र सार्वजनिक गरिसकेका छन् । ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाका लागि लागिरहेको मन्त्रालयले अब ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम पनि सञ्चालन गर्ने भएको हो । यो कार्यक्रमले धेरैधेरै किसानका लागि फाइदाजनक हुने मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।

मार्गचित्रमा ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रमसहित चारवटा विषय थप गरिएको मन्त्रालयले जनाएको छ । गठबन्धन सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राजेन्द्र पाण्डेले साझा न्यूनतम कार्यक्रममा समेट्दै यसलाई छिट्टै कार्यान्वयनमा लैजान निर्देशन दिइसकेका छन् । मार्गचित्रमा पशु स्वास्थ तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ सञ्चालनमा जोड दिइएको हो । नेपाल सरकारले पशु स्वास्थ्य सेवालाई अत्यावश्यक सेवाका रुपमा घोषणा गरेको सन्दर्भमा प्रदेश सरकार एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनामा लागेको अधिकारीले बताए ।

ग्रामिण क्षेत्रमा पशु सेवा प्रदायक र कृषकबीचको दूरी कम गर्दै पशुपन्छी क्षेत्रको विकासका लागि ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ र पशु क्लिनिक कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ । स्थानीय तहको वडासम्मै पशु सेवालाई सहज, सरल, पहुँचयोग्य बनाइ छिटोछरितो र गुणस्तरीय सेवा प्रदान गर्न कार्यक्रम ल्याइएको मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए ।  कार्यक्रमबाट व्यवसायिक पशुपंक्षीपालनका आधुनिक प्रविधिमा कृषकको पहुँच पुग्नुका साथै पशुमा लाग्ने रोगहरुको न्यूनीकरण र  निराकरण गर्न सहज हुने सचिव पाण्डेले बताए ।  मन्त्रालयले ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी वडा प्रस्ताव गर्न आफ्ना मातहतका कार्यालयलाई परिपत्र गरिसकेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*