प्रदेशभित्र औद्योगिक वातावरण बनाउन मुख्यमन्त्रीको चासो
हेटौंडा-बागमती प्रदेशभित्र औद्योगिक वातावरण सिर्जना गर्न प्रदेश सरकारले चासो देखाएको छ । अलपत्र औद्योगिक योजनालाई सुरु गराउन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चासो देखाएका छन् ।
प्रदेश सरकारले औद्योगिक क्षेत्र स्थापानाका लागि जग्गा पनि खोजी गरिरहेको मुख्य– मन्त्रीका निजी सचिव अच्युत उपाध्याय लामिछानेले जानकारी दिएका छन् ।
मुख्यमन्त्री पाण्डेले औद्योगिक वातावरण सृजना गर्न र लगानीको वातावरण निर्माण गर्न प्रस्तावित औद्योगिक क्षेत्रको निरीक्षण गरिरहेका छन् । उनले चितवनको कालिका नगरपालिका स्थित प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र र हेटौंडाको औद्योगिक क्षेत्रको निरीक्षण गरिसकेका छन् । उनले नयाँ उद्योग स्थापनाका लागि पनि जग्गाको खोजी गरिरहेका छन् ।
मुख्यमन्त्री पाण्डेले चितवन उद्योग वाणिज्य संघ तथा चितवन उद्योग संघको पदाधिकारी सहित प्रस्तावित शक्तिखोर औद्यागिक क्षेत्रको निरीक्षण गरेका हुन् । उनले स्थानीय सरोकारवाला पक्षहरुसँग औद्योगिक क्षेत्रको बारेमा जानकारी लिएका थिए । उनले औद्योगिक क्षेत्र स्थापना गर्न देखिएका समस्या तत्काल समाधान गर्न जोड दिएका छन् । बागमती प्रदेशकै आर्थिक समृद्धिका लागि महत्वपूर्ण मानिने शक्तिखोर औद्योगिक क्षेत्रका लागि आवश्यक लगानी जुटाउन पहल गर्ने उनको भनाई छ ।
औद्योगिक क्षेत्रको आयोजनालाई छिटो कार्यान्वयनमा लैजान संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेले बताए । औद्योगिक क्षेत्रका बारेमा चितवन उद्योग संघका पुर्व अध्यक्ष भेषराज दवाडीले जानकारी गराएका थिए । निरीक्षणमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनाल, श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्त, आयोगका सदस्यद्धय प्रल्हाद लामिछाने र राजु नेपाल– लगायतको उपस्थिति थियो ।