१७ दिनपछि एमाले मकवानपुरको विवाद मिल्यो

साझाकुरा
२०७८ माघ १२, बुधबार ११:०७

हेटौंडा-प्रतिद्वन्द्वी उम्मेदवारलाई थाहै नदिई नेकपा एमाले मकवानपुरको नयाँ जिल्ला कमिटी घोषणा भएपछि उत्पन्न विवाद सुल्झिएको छ । पुस २५ गते निर्वाचन कमिटीले अध्यक्षका उम्मेदवार बद्री लम्साललाई जानकारीनै नदिइ एकालाल श्रेष्ठलाई अध्यक्षमा घोषणापछि उब्जिएको विवाद लम्साल लचिलो ढंगले प्रस्तुत हुँदै आफ्नो उम्मेदवार फिर्ता लिएपछि सुल्झिएको हो ।

२३ र २४ पुसमा भएको एमाले मकवानपुरको अधिवेशनबाट पदाधिकारी र खुला सदस्य सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो । अध्यक्षमा श्रेष्ठ चुनिएका थिए । अध्यक्षका अर्का उम्मेदवार लम्सालले आफ्नो उम्मेदवारी कायमै रहेकाले जिल्ला कमिटी घोषणा गरेको भन्दै प्रश्न उठाउँदै आएका थिए ।

अन्ततः लम्सालले उम्मेदवारी फिर्ता लिएसँगै सर्वसम्मत जिल्ला कमिटीको मंगलबार सपथ गराइएको छ । तत्कालिन जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्षसमेत रहेका लम्सालले विज्ञप्ति निकाल्दै आफ्नो उम्मेदवारी कायमै रहेको र नयाँ कमिटी घोषणाविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।

लम्सालले नेताबाटै उम्मेदवारी फिर्ता लिएर सपथ ग्रहणको बाटो खोल्न दबाब आएको बताएका छन् । ‘मलाई नेताहरुबाट उम्मेदवारी फिर्ता लिन निर्देशन भएपछि सोही अनुसार फिर्ता लिएँ । पद हस्तान्तरण गर भनेकोले हस्तान्तरण पनि गरेँ । उम्मेदवारी फिर्ता गरेपछि नयाँ कमिटीको सपथ भयो । नेताहरुको निर्देशनअनुसार काम गरेँ ।,’ लम्सालले भने ।

यसअघि एमाले मकवानपुरका उम्मेदवारहरुले सर्वसहमतिको नाममा गुटको राजनीति गरेको आरोप लगाउँदै असन्तुष्ट पोखेका थिए । अध्यक्षमा श्रेष्ठ र लम्सालले दावी नछोडेपछि सहमति हुन नसकेपछि अध्यक्ष मण्डलले सर्वसम्मतीमा जिल्ला कमिटी टुंग्याएको थियो । ११ औं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठसहित उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, उपसचिव (खुला)मा हिदम लामा र उपसचिव (महिला)मा सिता विष्ट चयन भएका थिए ।

एमाले जिल्ला अधिवेशनका निर्वाचन प्रमुख अर्जुन अर्यालले जिल्ला अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए । अध्यक्ष श्रेष्ठले पदाधिकारीलाई सपथ गराएका  थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*