हेटौंडामा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

साझाकुरा
२०७८ माघ १२, बुधबार ११:११

हेटौंडा-बागमती प्रदेशतर्फ रिक्त रहेको राष्ट्रियसभा सदस्य दुई सीटका लागि आज बुधबार हेटौंडामा मतदान प्रक्रिया अघि बढाईंदै छ । हेटौंडामा दुई वटा मतदान केन्द्रबाट मतदान हुने प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हेटौंडा–८ औद्योगिक क्षेत्र परिसरमा हुने मतदान प्रक्रियाका लागि सवारी पार्किङ स्थल, हेल्प डेस्क र स्वास्थ्य क्लिनिक संचालन गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै गरी दुई वटा मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले बताए । दुई मतदान केन्द्रमा अधिकृतसहित ८÷८ जना गरी १६ जना कर्मचारी खटिने छन् ।  मतदान केन्द्र अनुसार मतपत्र पनि दुई रंगको हुनेछ । कोभिड–१९ महामारीको कारणले गर्दा स्वास्थ्य सुरक्षामा केही चुनौती देखिएपनि यसको व्यवस्थापन गर्ने गरी तयारी गरिएको पोखरेलले बताए ।

मतदाताहरुले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने, कोरोना संक्रमित भए वा लक्षण देखिएका मतदातालाई छुट्टै मतदान गर्ने गरी व्यवस्थापन गरिएको छ ।  मतदान स्थलामा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले हेल्पडेस्कसहित २ जना स्वास्थ्यकर्मी अनिवार्य रहनेछन् । बिहान ९ बजेबाट सुरु भएर दिउँसो ३ बजे मतदान गर्ने समय तोकिएको छ । ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

राष्ट्रियसभा सदस्य बन्न ६ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी आधा दर्जनले मनोनयन दर्ता भएको प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।  गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस)बाट गोमादेवी तिमल्सिना र अन्य तर्फमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल मैदानमा छन् । प्रतिपक्ष नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर, अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचन प्रक्रिया अन्तर्गत प्रतिस्पर्धामा सहभागी नभएको विवेकशील साझा पार्टी मतदान प्रक्रियामा पनि अनुपस्थित हुने भएको छ । विवेकशील साझा पार्टी बागमती संसदीय दलको मंगलबार दिउँसो काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बागमतीमा विवेकशील साझाका ३ सांसद छन् ।  राष्ट्रियसभा निर्वाचनमा हाल उम्मेदवार रहेको कोही पनि उचित नलागेका कारण मतदान प्रक्रियामा सहभागी नहुने निर्णय  गरिएको संसदीय दलका नेता रमेश पौड्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*