सरकारविरुद्ध हेटौंडामा युवा संघको प्रदर्शन

साझाकुरा
२०७८ माघ १३, बिहीबार १२:३२

हेटौंडा-नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सरकारविरुद्ध हेटौंडामा शान्तिपूर्ण प्रदर्शन गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन धकेल्न खोजेको र पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा युवा संघले हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको हो ।  युवा संघ मकवानपुरले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न माग गरेको छ । स्थानीय तहलाई संविधान विपरित निर्वाचन पछि धकेलेर जनप्रतिनिधि बिहीन बनाउन खोजेको भन्दै युवा संघले विरोध गरेको हो । युवा संघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीले माग सम्बोधन नभए
सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए ।

नेपाल निगम आयलले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन युवा संघले  सरकार समक्ष माग गरेको छ । ‘स्थानीय निर्वाचनको मिति घोषणा गर, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, सरकार अत्ति गर्, अत्याचार नगर मूल्यवृद्धि फिर्ता गर, स्थानीय तह निर्वाचन सार्ने गठबन्धन सरकारको निर्णयको प्रतिकार गरौ’ लेखिएका प्ले कार्डसहित युवा संघका कार्यकर्ताहरुले नारावाजी गरेका थिए ।

पाँच दलीय गठबन्धन सरकारले स्थानीय तह निर्वाचन सार्ने तयारी गरिरहेको अवस्थामा देशभर विरोध प्रदर्शन भइरहेको छ । सत्ता घटक दलका नेताहरुले मंसिरमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि– सभाको निर्वाचन एकैपटक हुने प्रतिक्रिया दिइरहेका छन् ।  तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संविधान अनुसार वैशाखममा स्थानीय तहको निर्वाचन गर्नुपर्ने माग गरिरहेको छ । कांग्रेसभित्रै संस्थापन इतरको समूहले पनि स्थानीय तहको निर्वाचन वैशाखामा गर्नुपर्ने आवाज उठाइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*