‘विरोध खतिवडाले काम गरेनन्, ओलीविरुद्ध भजन मात्रै गाए’

एमाले नेता महेश बस्नेतले हेटौंडामा भने
साझाकुरा
२०७८ माघ १४, शुक्रबार १२:५२

हेटौंडा-नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वउद्योग मन्त्री महेश बस्नेतले विरोध खतिवडालाई काम नगर्ने मन्त्रीको संज्ञा दिएका छन् । हेटौंडामा बिहीवार प्रेस चौतारी मकवानपुरले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले कोरोनाबाट जनता प्रताडित बनिरहेको बेला काम नगरेर एमाले अध्यक्ष केपी शर्मा ओलीको भजन गाएर बसेको आरोप लगाएका हुन् ।

‘यही जिल्लाबाट मन्त्री बनेका विरोध खतिवडाले काम  गरेनन् । उनको काम ओलीविरुद्ध भजन गायर मात्रै बस्ने छ ।,’ बस्नेतले भने ।खतिवडालाई स्वास्थ्य मन्त्रालयमा के भइरहेको छ भन्ने चासो नभएको र मन्त्रालयले के गर्ने भन्ने थाहा नभएको भन्दै केपी ओलीलाई के गर्ने भन्ने चाँही थाहा भएको बस्नेतको आरोप थियो ।

‘बिहानदेखि बेलुकासम्म ओलीको भजन गाएर उहाँ हिडिरहनु भएको छ । उहाँकै मन्त्रालयबाट २४ लाख डोज खोप हराउँदा पनि उनलाई अत्तोपत्तो छैन् ।,’ बस्नेतले भने । नेता बस्नेतले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार महत्वपूर्ण निर्णय गर्न नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन् । पाँच दलिय गठबन्धनको रुपमा रहेको वर्तमान सरकारको काम कसरी नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ भन्नेमै बितेको बस्नेतको आरोप थियो ।

उनले नेकपा एमाले वर्तमान सत्तारुढ पाँच दलिय गठबन्धनसँग एक्लै चुनाव लड्न तयार रहेको बताए । ‘हामी एक्लै चुनाव लड्न तयार छौं । पाँच दल एउटै दलमा परिणत भए हुन्छ ।’, बस्नेतले भने । उनले संविधान अनुसार स्थानीय तहको मिति तत्काल घोषणा गर्न समेत माग गरेका छन् ।
बस्नेत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि खनिए । एमाले पार्टी र अध्यक्ष केपी शर्मा ओलीलाई हिटलर भनेको भन्दै बाबुराममाथि कटाक्ष गरेका हुन् ।

उनले मान्छेलाई जिउँदै लगाएर मार्नेले एमाले र ओलीलाई अधिनायकवादी र हिटलर भन्नु ठिक नभएको बताएका छन् । ‘क्रान्तिका नाममा धेरै युवाहरु र एमाले कार्यकर्तालाई  हल्लेरी, बाँदरमुँडेमा जिउँदै जलाएर र बम पड्काएर हत्या गर्नेले एमाले र ओलीलाई अधिनायकवादी  र हिटलर भन्ने ?’ उनले भने, ‘हल्लेरीमा ८–९ जना साथीहरुलाई  घरभित्र जलाएर मारेको उहाँको कालो इतिहास छ । बाँदुरमुँडेमा सयौं जना यात्रुलाई बम पड्काएर मारेको इतिहास छ । असंख्य मान्छेको हत्या गरेर उहाँहरु नै एमाले र ओलीलाई अधिनायकवादी भयो हिटलर भयो भनेर ठूला कुरा गर्छन् ।,’ बस्नेतले क्रोश पोखे ।

जनता समाजवादी पार्टी (जसपाका)का नेता भट्टराईले एमाले अध्यक्ष ओलीलाई ८ माघमा  हिटलरको संज्ञा दिँदै सामाजिक सञ्जालमा लेखेका थिए । उनले ओलीलाई हिटलर भनेपछि गोकुल बाँस्कोटा लगायतका नेता प्रतिवादमा उत्रिएका थिए । भट्टराईले एमालेलाई बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्वको संज्ञा दिएका थिए ।

बस्नेतले बाबुरामको इतिहास कालो रगतले लत्पतिएको भन्दै एमाले र ओलीविरुद्ध लगाएको आरोप जनताले नपत्याएको उनको भनाई छ । उनले स्थानीय तहको निर्वाचन वैशाखमा गर्नुपर्ने जोड दिँदै एमालेसँग पाँच वटै दल डराएको बताए । आफ्नै पार्टीकी मन्त्री रेणु यादवले खुलमखुल्ला हत्या गर्ने भाषण गर्दापनि पार्टीको धारणा आएको छैन भन्ने बाबुरामले एमाले र ओलीलाई अधिनायकवादी र हिटलर भनेर कुतर्क गरेको बस्नेतको आरोप छ । प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल, युवा संघका सचिवालय सदस्य सन्तोष चौलागाईंलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*