संसदीय समिति सभापतिमा एमालेबाट मात्रै प्रस्ताव दर्ता

साझाकुरा
२०७८ माघ १७, सोमबार १२:०४

हेटौंडा-बागमती प्रदेश सभाको अर्थ तथा विकास समिति  र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापतिको निर्वाचन आज सोमबार हुँदैछ ।
अर्थ तथा विकास समितिको आज सोमबार मध्यान्ह १२ बजे र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको दिउसो २ बजे निर्वाचन तोकिएको छ । दुवै समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट मात्रै प्रस्ताव दर्ता भएको छ ।

गठबन्धनका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट कसैको पनि प्रस्ताव दर्ता नभएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । गठबन्धन दुवै समितिमा एमालेको एकल बहुमत रहेकाले निर्वाचन प्रक्रियामा सहभागी नभएको जनाइएको छ ।
वैशाखदेखि अर्थ तथा विकास समिति र पुसदेखि रिक्त शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति रिक्त थियो । आइतबार एमालेबाट अर्थ तथा विकास समिति सभापतिमा काठमाडौंका नारायण बहादुर सिलवालले प्रस्ताव दर्ता  गराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सिलवालको प्रस्तावक शशिजंग थापा र समर्थक आशा माया तामाङ छन । यसैगरी शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापतिमा काठमाडौंका केशवप्रसाद पोखरेलले प्रस्ताव दर्ता गराए । पोख्रेलको प्रस्तावक दावा दोर्जे लामा र समर्थक प्रकाश श्रेष्ठ छन । समितिको सभापति पदको प्रस्ताव दर्ता गर्ने समय आइतबार साँझ ५ बजेसम्म थियो । समिति सभापतिमा एमालेबाट मात्रै प्रस्ताव दर्ता भएको र गठबन्धनबाट सभापति पदको प्रस्ताव दर्ता नभएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले साझाकुरालाई जानकारी दिए । सोमबार हुने निर्वाचनमा गठबन्धन सहभागी नहुने भएपछि एमालेका सदस्यको मात्रै उपस्थित हुने देखिन्छ ।

एमालेले आफ्ना सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइसकेको छ । तोकिएको समयमा दुवै समितिको अनिवार्य बैठक बस्ने र बहुमतले सभापति चयन हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । यी दुवै समितिमा एमालेको बहुमत रहेकाले सिलवाल र पोख्रेल समिति सभापति चयन हुने लगभग पक्का छ । अर्थ र शिक्षा समितिमा एमालेको बहुमत सदस्य छन । २० जना सदस्य
रहेको अर्थ समितिमा एमालेको मात्रै १२ जना, नेकपा माओवादी केन्द्रको ४ जना, नेकपा (एकीकृत समाजवादी) को २ जना, नेपाली कांग्रेसको १ जना र विवेकशील साझा पार्टीका १ जना सदस्य छन । शिक्षा समितिमा पनि एमालेको १२ जना, माओवादी केन्द्रको ३ जना, नेपाली कांग्रेसको ३ जना र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को १ जना सदस्य छन ।

यसअघि अर्थ समितिको सभापति सरेश नेपाल थिए । उनी तत्कालीन एमाले सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेसँगै उक्त पद रिक्त थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल थिए । दहाल वर्तमान गठबन्धन सरकारमा श्रम, रोजगार तथा यातायात मन्त्री भएपछि उक्त पद रिक्त रहेको थियो । बागमती प्रदेश सभाको अर्थ र शिक्षासहित प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, उद्योग, पर्यटन तथा वातावरण गरी पाँच वटा समिति छ ।

सभामुखले एकलौटी गर्न खोजेको गठबन्धनको आरोप

संसदीय समिति सभापतिमा मनोनयन दर्ता नगराएको गठबन्धन आज हुने निर्वाचन प्रक्रियामा पनि सहभागी नहुने भएको छ । बागमतीका सभामुख सानुकुमार श्रेष्ठले समितिमा एकलौटी गर्न खोजेको आरोप लगाउँदै गठबन्धन समिति निर्माणमा सहभागी नहुने भएको हो । गठ– बन्धनले सभामुख सानुकुमार श्रेष्ठले कुनै छलफल नै नगरी समिति सभापतिको निर्वाचन राखेको आरोप लगाएको छ । सभामुख श्रेष्ठले सत्तारुढ दलहरुसँग छलफल र सहमति नगरी निर्वाचन प्रक्रिया अगाडि बढाएकाले सभापति पदमा प्रस्ताव दर्ता नगराएको अर्थ तथा विकास समिति सदस्यसमेत रहेका नेकपा माओवादी केन्द्रका प्रदेश सांसद युवराज दुलालले बताए ।

उनले गठबन्धन निर्वाचन कार्यक्रममै सहभागी नहुने बताए । ‘हामीले एक वर्षदेखि रिक्त रहेको पदमा निर्वाचन गरौं भन्दा सभामुख आलटाल गरेर बस्नु भयो । अहिले उहाँले छलफल नै नगरी एक्कासी निर्वाचन घोषणा गरेर अघि बढ्नु भएको छ । हामी निर्वाचनमा सहभागी हुँदैनौं ।’ दुलालले भने, ‘समिति निर्माण गर्दा सहमतिमा गर्नुपर्ने थियो । सभामुखले एकलौटी गर्न खोजे ।,’ यसबारे बुझन् साझाकुराले सभामुख श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*