शिक्षकले पढ्नैपर्ने किताब “उज्यालोतिर” पढिसके पछि

रमेशप्रसाद लामिछाने, हेटौंडा
२०७८ माघ १७, सोमबार १२:०७

१. हाम्रो शिक्षामा शिक्षकका चर्चा अधिक सुन्न र पढ्न सकिन्छ । शिक्षकले पढाएनन् सिकाएनन् । शिक्षक धेरै राजनीतिककर्मी भए । अभिभावक, शिक्षक र विद्यार्थी तिनै पक्षले चाहेमात्र शिक्षामा अपेक्षित उपलब्धि हुने टिप्पणी पनि कम छैन । सरकारकै नीति गतिलो नभएर शिक्षामा समस्या बढिरहेको भन्नेहरु पनि छन् । सरकार शिक्षकलाई दोष दिन्छ ।

शिक्षक सरकारकै कारणले हाम्रो शिक्षा बिग्रेको देख्छन् । एक अर्कामा दोषारोपण गर्दैमा वर्षौ बितिसकेको छ । शिक्षाविद्हरुको किताब, लेख, अन्तर्वाता, विचार, भाषण, कक्षा, गोष्ठि, सेमिनार, आदिको अभाव पटक्कै छैन । यहि भिडमा तर भिन्न र ब्यवहारिक प्रस्तुती बोेकेको, शिक्षासंग विशेषगरी शिक्षकहरुका लागि उपयोगि लागेकाले “उज्यालोतिर” नामको किताबले प्रवाह गरेको सन्देश प्रसंग यस आलेखमा उठान गर्ने प्रयत्न गरिएको छ । यो अनुमतीमा गरिएको निर्देशित समिक्षा भने होईन ।

२. शिक्षक भईसकेका र शिक्षक बन्ने मनसाय बोकेकाहरुले एक पटक पढ्नै पर्ने किताब रहेछ “उज्यालोतिर” । यद्यपि शिक्षकका लागि बजारमा धेरै किताबहरु भेटिन्छन् र धेरैमा विषयवस्तु समान पढन सकिन्छ । शिक्षाक्षेत्रमै जिवन खर्चिएका ब्यक्तिहरुको अनुभव र सन्देश बुझ्ने उद्धेश्यले यो किताब प्रकाशन भए पश्चात नै पढ्ने सोच बनाई सकेको थिए ।

शिक्षामा चार दशक भन्दा बढि प्रत्यक्ष संलग्नताका साथ खटेर सँगालिएको भण्डारबाट आफ्नो अनुभव बाहिर ल्याउनु भएका आदरणीय टिकाराम रेग्मी सरको यो किताबले सैद्धान्तिकता भन्दा ब्यवहारिकताको उजागर गरेको छ । प्रस्तुत उपन्यासमा सफल र उदाहरणिय शिक्षक सरु बाट लेखक स्वयम्ले प्रभावकारी शिक्षण विधिहरु प्रयोगमा ल्याउन आग्रह गरेको स्पष्ट छ । पूर्व शिक्षक भाष्करलाई मार्गदर्शक पात्रको रुपमा चित्रित गरिएको छ । एउटा विद्यालय, शिक्षक, विद्यार्थी, समिति, अभिभावक, स्वभाविक पात्र प्रस्तुत गरिएको यो उपन्यास सुखान्त नै छ ।

३. उपन्यासले ३९५ पेजमा ४९वटा उपशिर्षकहरु समेटेको छ । शिक्षाविदहरु प्रा.डा. विद्यानाथ कोईराला, प्रा.डा. मनप्रसाद वाग्ले, रमाकान्त सापकोटा सर र जितबहादुर शाह सरले ब्यक्त गर्नुभएका सारगर्भित तथा सटिक मन्तब्य नै समग्र किताबको सारकोलागि पर्याप्त छ भन्दा अत्युक्ति हुनेछैन । किताब कक्षा कोठामै केन्द्रित छ भन्नै पर्दछ ।

कक्षामा शिक्षकले विद्यार्थी केन्द्रित क्रियाकलापमा खासगरी शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन निर्बाह गरेका प्रयत्नहरु सान्दर्भिक र उपयोगी छन् । लेखकले उपन्यासमा प्रस्तुत पात्रहरुलाई गरेको न्याय अन्याय बारेको टिप्पणीले खासै महत्व राख्दैन भन्दै गर्दापनि “प्रयास” प्रति अन्याय भएको भन्नै पर्दछ । “सरु” को लगाव र समर्पणलाई गरिएको सम्मान अझ कम भयो भन्दा अत्युक्ति नहोला । “भाष्कर” लाई एकै विद्यालयको घेरा परिसरबाट उठाएर कम्तिमा जिल्लातह सम्म उदाहरण बनाईएको भए सुनमा सुगन्ध हुन्थ्यो कि ?

४. अधिकांश विद्यार्थीलाई पास चाहिएको छ । पायः अभिभावक आफ्ना वालवालिका स्कूल कलेज गएको र वर्ष पुगेपछि कक्षा चढेको हेर्न चाहन्छन् । धेरैशिक्षकको ध्यान कोर्स सक्नेमा पाईन्छ । समिति र जनप्रतिनिधिका आफ्नै निजि स्वार्थ छन् । शिक्षा प्रशासन आदेश निर्देशमा रमाउँदै औपचारिकतामा बितिरहेकै हो ।

सरकारलाई समग्र शिक्षा ब्यवस्थाको बारेमा सोच्ने र गम्भिर बन्ने फुर्सद भएको भए शिक्षा ऐन २०२८ कम्तिमा पहिले नै बदलिन्थ्यो ।
हाम्रो शिक्षालाई समयानुकुल बनाउन प्रयत्न गर्ने नगण्य शिक्षाकर्मीहरुको आवाज र कोशिश बारम्बार ओझेलमा परेकै हो । स्तरिय शिक्षाको सबालमा विद्यार्थीको सिकाई नै प्रमुख पक्ष हो भन्नेमा टिकाराम सर अत्यन्तै गभ्मिर भएको तथ्य सरुको कक्षा क्रियाकलापमा स्पष्ट देख्न सकिन्छ । अनुभव र तालिमको कुनै अर्थ देखिएन जुन यथार्थ स्विकार्नै पर्दछ । शिक्षक तालिमका नाममा गरिएको लगानि नाम मात्र  रहेछ भन्ने साबित भएको छ । दशकौं वर्ष शिक्षण पेशामा संलग्न तालिमप्राप्त ईन्दिरा, रन्जु, दिपक, खेम, ईश्वर, उमेश, रमेश, महेशहरुको भिडमा एकदिन पनि तालिम नलिएको सरु पहिलो कक्षामा नै एक परिपक्व शिक्षक देखिनुलाई विश्लेषणको विषय बनाउनै पर्दछ ।

५. प्रस्तुत उपन्यासका केहि हरफहरु यहाँ उल्लेख गर्नु सान्दर्भिक लाग्यो । जीवनसंग जोडिएको सिकाई परिपक्व हुन्छ । जुन दिनसम्म विद्यार्थीलाई आफ्नै छोराछोरी वा भाइबहिनि मान्न सक्छ्यौ त्यसदिन सम्म मात्र तिमी शिक्षक रहिरहन सक्नेछ्यौ । उद्धेश्यप्रति सचेत मानिस कहिल्यै हार्दैन । बाध्यताले नै सहि, म हिंडेको बाटो खराब छैन । इशारा सर्वब्यापि भाषा रहेछ, जो सुकैले बुझ्ने । किन चिन्ता ?

यात्रा जारी राख्नु, एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ । मैले विद्यार्थीलाई घोटेर पिलाउने छैन, तिनलाई आफैं पिउन सक्ने बनाउने छु । सबैभन्दा पहिले आफ्ना विद्यार्थीलाई पढ्न बिर्सनेछैन । स्कूलमा पनि अर्की आमा भेटिछ । तिमी सिधा उभिईराख्नु, छाया बाड्डो भएर केहि फरक पर्दैन । बाल मनोविज्ञान, मायालु ब्यवहार, आवश्यकताको पहिचान र रमाएर सिक्ने वातावरणको तयारी । जागिर मात्र खान त अरुकै बाटो ‘….शिक्षक हुने हो भने ? मूलबाटोको माग हुतिहाराले मात्र गर्छन् । अन्धकारमा गोरेटो कोर्ने अन्वेषक र गोरेटो भत्काएर सडक बनाउने इञ्जिनियर हो । विद्धानहरु ढिपी गर्दैनन् ।

शिक्षक भएर समयमा विद्यालय नजाने, उपस्थित भईहाले कक्षामा नजाने, गर्नैपर्ने नगर्ने, गर्नै नहुने गर्ने, हुँदा हुँदा विद्यार्थीको कापी समेत नहेरी अंक दिने गर्छन् । बालबालिकाको शिक्षामा पहिलो आमा, दोश्रो घरपरिवार अनि मात्र विद्यालयको स्थान आउँदो रहेछ । एउटा ढुंगो घनको पछिल्लो चोटले फुट्नुको अर्थ पहिलो चोटको भूमिका थिएन भन्ने होईन । बालकलाई क्यासेट प्लेयर वा भकारी सम्झेर भर्न नखोज्नु, बरु तिनैमा भएको चेत कोट्याईदिने प्रयत्न गर्नु ।

६. शिक्षण सिकाईमा शैक्षिक सामग्रीको भूमिकाको प्रयाप्त उजागर गरिएको प्रस्तुत किताबमा न्यून लागतका शैक्षिक सामग्रीहरु बिरालो तथा मुसा लगायतका जनावरका मास्कहरु, रंगिन बलहरु, कार्डबोर्ड, शब्दपत्तिहरु, मार्कर, अनि लागतै नपर्ने कक्षाकोठा र विद्यार्थी तथा शिक्षक स्वयम्ले सामग्रीको रुपमा मोबाईल फोनको आकर्षक प्रयोगबाट शिक्षण सिकाई रोचक बनेको छ । शैक्षिक सामग्रीको महत्वका
बारेमा उक्त किताबको पेज २२९ बाट छुटाउनै नसकिने हरफहरु– “म त बिना बसिला,रामो वा हथौडाको सिकर्मी भएछु । टेप, कैंची,सियो वा धागो नै नभएको सुचीकार भएछु ।

डाडुपन्यूँ, प्लेट चम्चा,वा थाल कचौरा नै नभएको भान्से भएछु । झाडु, कुचो नै नभएको सफाई मजदूर भएछु ।” खेल विधि, प्रश्नोत्तर विधि संगै प्रत्येक सिकाईका शब्दलाई गितको लयमा प्रस्तुत गरेर विद्यार्थीमा पर्याप्त उत्प्रेरणाको आँधीबेहरी नै श्रृजना गरिएको सबै शिक्षककालागि राम्रो खुराक बनेको छ । थोरै खाली समयको अधिकतम प्रयोग गरेर शैक्षिक सामग्री निर्माणमा ब्यस्त शिक्षक जो संग प्रत्येक कक्षा जानु अघि उद्धेश्य र तयारीमा रहनेले सधैं शिक्षणमा सन्तुष्टि हासिल गर्ने यथार्थको उपयुक्त उदाहरणको प्रस्तुतीमा कतै कमजोरी भेटिन्न । शिक्षक स्टाफमा शेयरिड्ड र अन्तक्र्रियाले पारेको समग्र सकारात्मक प्रभावलाई भुल्न सकिन्न ।

७. अन्तमा, विद्यार्थी पढ्न सिक्नै चाहँदैनन् र शिक्षकले पढाएनन् सिकाएनन् भन्नेहरुलाई यो किताब शिक्षकले नै पढाउने सिकाउने रहेछन् भन्ने सन्देश दिन सफल देखिन्छ । स्कूल कलेजमा पढाउने वातावरण नै छैन, भएन भन्नेहरुलाई पनि संघर्षशील लगावको परिणाम हेर्न आग्रह गरिएको छ । संस्थाले शैक्षिक सामग्री नै किन्दैन अनि के प्रयोग गरेर देखाउने भनेर नथाक्नेहरुका लागि आवश्यक खुराक दिनमा कमी भएको लागेन ।
म त धेरै पढेको मान्छे, तल्लो कक्षामा जाने हैन भन्नेहरुका लागि पनि उपयुक्त जवाफ दिन लेखकले बिर्सनु भएको छैन ।

तिन चार दशकको अनुभव भएकाको अगाडि हिजो आएकाको फुर्ती, नयाँ जोगीले ज्यादा खरानी घस्ने भन्नेहरुका लागि मुखैभरिको जवाफ भेटिन्छ । अंगे्रजीलाई अंग्रेजी मै बोलेर खुबै जान्ने देखाउन खोजेको भनेर हतारमा प्रतिक्रिया दिनेलाई यो किताबले दिएको जवाफ पर्याप्त छ भन्ने लाग्छ । जो कोहि शिक्षकले यो पढेर समयको राम्रो सदुपयोग महसुस गर्नेमा शंका छैन । टिकाराम सरबाट आगामी दिनमा यस्तै ब्यवहारिक र सामयिक श्रृजनाको अपेक्षा गर्दछु ।

यसमा तपाइको मत

Your email address will not be published.


*