प्रदेशसभाको चार वर्ष पूरा

साझाकुरा
२०७८ माघ १९, बुधबार १०:२०

हेटौंडा-बागमती प्रदेश सभा स्थापनाको चार वर्ष पूरा भएको छ । मंगलबार प्रदेशसभाको बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाले संघीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकमा यसको औचित्य, सान्दर्भिकता र गरिमालाई बढाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह  गरेको बताएका छन् । बागमती प्रदेशसभाको चौथो वार्षिकउत्सवका अवसरमा मंगलबार सम्बोधन गर्नुहुँदै उनले २०७४ साल माघ १८ गते प्रदेश सभाको पहिलो अधिवेशन बसेदेखि आजसम्म प्रदेशसभाबाट ६१ वटा विधेयक पारित हुनुका साथै महत्वपूर्ण निर्णय भएको दाबी गरेका छन् ।

त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभा सञ्चालनको सन्दर्भमा सभामुख सानुकुमार श्रेष्ठले सबै  राजनीतिक दलसँग समन्वयकारी भूमिका निर्वाह नगरेको आरोप लगाए । उनले वर्तमान सरकारको काम गर्ने अवधि निकै थोरै भए तापनि जनताप्रतिको उत्तरदायित्व धेरै भएकोले सबै मिलेर जनहितका काममा लागि पर्नुपर्ने बताए । त्यसैगरी कार्यक्रमको सभाध्यक्षसमेत रहनुभएका सभामुख श्रेष्ठले आफूले सबै राजनीतिक दल र सत्तापक्ष वा प्रतिपक्ष कसैलाई पनि पूर्वाग्रही ढंगबाट नभइ समान रुपमा हेरेको स्पष्ट पारे । उनले प्रदेशसभा सुचारु गर्ने, प्रदेश  सरकार सञ्चालनको लागि आवश्यक नीति निर्माण गर्ने, राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन गर्ने, समग्र प्रदेशको विकासका काम गर्ने सन्दर्भमा आफू सदैव सहयोगीको रुपमा रहेको बताए ।  कार्यक्रममा बागमती प्रदेश सभाका उपसभामुख राधिका तामाङ, मन्त्री, प्रदेशसभा सचिवालयका सचिव, विभिन्न मन्त्रालयका सचिव, उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*