कांग्रेस मकवानपुरको कार्यवाहक सभापति बने लामिछाने

साझाकुरा
२०७८ माघ २१, शुक्रबार ११:५०

हेटौंडा-नेपाली कांग्रेस मकवानपुरको कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले पदभार सम्हालेका छन् । कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापति निर्वाचित भएपछि स्वतः जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका लामिछानेले बिहीबार औपचारिक रुपमा पदभार सम्हालेका हुन् । १४ औँ महाधिवेशन अन्तरगत मंसिर १६,१७ र १८ गते सम्पन्न बागमती प्रदेश अधिवेशनबाट मकवानपुर सभापति बानियाँ प्रदेश सभापति निर्वाचित भएपछि जिल्ला उपसभापति रहेका लामिछानेले कार्यवाहकको जिम्मेवारी पाएका थिए ।

केहि दिनअघि मात्रै प्रदेश सभापति बानियाँले जिल्लाका पदाधिकारीहरुलाई पनि जो जुन पदमा छ, सोही पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए । जिल्लाको निर्वाचन नभएसम्मको लागि उपसभापतिलाई भने कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो नेतृत्वमा कांग्रेसको संगठनलाई मजबुद बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।  उनले कांग्रेस मकवानपुरको अधिवेशन स्थानीय तहको निर्वाचन पश्चात गर्न प्रस्ताव समेत गरेका छन् । उनले सबैको सहमति जुटे आफु सभापति भएर पनि काम गर्न इच्छुक रहेको पनि बताए ।

कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदीप कोइराला, क्षेत्रीय सभापति दामोदर खनाल, प्रदेशसभा सभापति राजेश बानियाँ, हेटौंडा उपमहानगरपालिका सभापति उत्सव इटेनीलगायत पार्टीका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पदभार पश्चात कार्यबाहक सभापतिको अध्यक्षतामा जिल्ला पदाधिकारी तथा कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*