धार्मिक विश्वासलाई व्यवहारमा लागू गर्न मोक्तानको आग्रह
हेटौंडा-बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले धर्मका राम्रा कुरालाई व्यवहारमा लागू गनुपर्ने बताएकी छन् । मन्त्री मोक्तानले बौद्ध धर्मले स्वास्थ्यलाई असर गर्ने मद्यपान नगर्न सुझाव दिएको उनको भनाइ छ । ‘धर्ममा रहेको राम्रो कुरालाई लागु गर्न सबैलाई आग्रह गर्छु ।,’ मोक्तानले भनिन् । भीमफेदी गाउँपालिका–३, इचुङस्थित टासी फिक्सुङ बौद्ध गुम्बामा आयोजित शुभकामना आदनप्रदान एवं साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बागमतीको गठबन्धन सरकारले सबै धर्मालम्बी समुदायको चाडपर्वमा विदाको व्यवस्था गरेर सम्मान र सद्भाव बढाएको बताइन् ।
तामाङ जातिको नयाँ वर्ष ल्होसारमा विदा दिएर सरकारले धेरै राम्रो काम गरेको मोक्तानको भनाई छ । ‘दशैंमा १५ दिन विदा दिइन्थ्यो । अहिले ५ दिन विदा छ ।,’ उनले भनिन्– ‘सबै धर्म राम्रो र महान् रहेकाले सबै धर्मालम्बीलाई चाडपर्वमा विदा दिनु न्याय पनि हो ।’
तामाङ, चेपाङलगायतको जातिले आ–आफ्नो नयाँ बर्ष र विशेष पर्वमा विदाको माग गर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले तामाङ समुदायलाई ल्होसारमा र चेपाङलाई न्वागी पर्वमा बिदा दिने निर्णय गरेको बताइन् । ‘देश हिन्दुराष्ट्र हुँदा सबैले जानीनजानी संस्कृत विषय अनिवार्य पढ्नुपर्ने बाध्यता थियो ।,’ उनले भनिन्, ‘नेपाललाई हामीले धर्मनिरपेक्ष बनाएपछि संस्कृत अनिबार्य पढ्नुपर्ने बाध्यता हटाएर स्थानीय भाषामा पढ्न पाउने व्यवस्था गरेका छौं ।,’
शुभकामना आदनप्रदान तथा सांस्कृति कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रितिलाल रुम्बा, टासी फिक्सुङ बौद्ध गुम्बा साँस्कृतिक कलाकार समुहकी सदस्य सम्झना पाख्रिनलगायतले मन्तव्य व्यक्त \गरेका थिए । कार्यक्रममा टासी हिृक्सुङ बौद्ध गुम्बाका प्रमुख विरसिं लामा, प्रहरी सहायक निरिक्षक खेमबहादुर कार्की, समाजसेवीहरु बद्री स्याङ्तान, अमृत बल, पदम दोङ, भरतसिं पाख्रिनलगायतको आतिथ्य थियो । टासी फिक्सुङ बौद्ध गुम्बाका अध्यक्ष रामबहादुर पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष मानबहादुर सिन्तानले संचालन गरेका थिए ।
इचुङमा २०६२ सालदेखि सोनाम ल्होसार छाप्रो हुँदै गुम्बा परिसरमा मनाउन थालिएपनि भौतिक संरचनाको अभाव भएकाले सहयोगका लागि स्थानियबासीले अनुरोध गरेका थिए ।