आजदेखि भेडा र बाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाईंदै

साझाकुरा
२०७८ माघ २५, मंगलवार ०९:२५

हेटौंडा-बागमती प्रदेशका १३ वटै जिल्लास्थित सबै स्थानीय तहमा भेडा र बाख्रामा पीपीआर रोगविरुद्धको खोप लगाइने भएको छ ।प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशभित्रका सबै स्थानीय तहमा भेडा र बाख्रामा पीपीआर रोगविरुद्धको खोप आज मंगलबारदेखि लगाउने जानकारी दिएको छ । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले पीपीआर रोगको नियन्त्रण र रोकथामका लागि सबै स्थानीय तहमा खोप अभियान सञ्चालन हुने बताएका छन् । खोप अभियान फागुन २ गते सञ्चालन हुने मन्त्रालयका प्रवक्ता राजन ढकालले जानकारी दिएका छन् ।

ढकालले एकहप्ता सबै स्थानीय तहमा खोप केन्द्र र भ्याक्सिनेटर तयारी अवस्थामा रहेको बताए । पहिलो चरणमा १ करोड १९ लाख बजेटको ११ लाख ९० हजार खोप मात्रा आएको पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. रामप्रकाश प्रधानले बताए । उनले प्रदेशमा भेडाको संख्या ९३ हजार ६ सय ३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २ सय १७ रहेको बताए । भेडा, बाख्रामा पीपीआर रोग प्रदेशका सबै जिल्लामा देखा परेको मन्त्रालयले जनाएको छ ।

विषाणुबाट लाग्ने पीपीआर रोगको उपचार नभएका कारण सबै भेडाबाख्रालाई रोगबाट सुक्षित राख्न उपयुक्त खोप लगाउने भएको मन्त्रालयले जनाएको छ । १३ वटै जिल्लाको एक हजार १ सय ३७ वटा खोप केन्द्रबाट ४ सय ६० जना भ्याक्शिनेटरमार्फत खोप लगाउन लागिएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख तथा प्रवक्ता ढकालले जानकारी दिए । भेडा र बाख्रोको तुलनामा खोपको मात्रा कम रहेको र आवश्यक खोपको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

पीपीआर रोग हरेक वर्ष देखा पर्ने र एक पटक खोप लगाइसकेपछि तीन वर्षसम्म खोप लगाउन नपर्ने निर्देशनालयका निमित्त निर्देशक प्रधानले बताए । पीपीआर रोग लागेका भेडा बाख्रामा ज्वरो ४० देखि ४१ डिग्री सेल्सियस १०४ देखि १०६ डिग्री फरेनहाइट आउने गरेको प्रधानले बताए । भेडाबाख्रामा नाकबाट पानी बग्ने, कालान्तरमा बाक्लो गन्हाउने सिंगान बगाउने, सिंगानको पाप्रा बनि नाकको प्वाल बन्द हुने, आँखा रातो, कचेरा निस्कने, निरन्तर आशु बग्ने, गिजामा कनिका छरेजस्तो ससाना दाना देखिने जस्ता समस्या आउने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*