बागमती सरकारले स्थापना दिवस नमनाउने

साझाकुरा
२०७८ माघ २७, बिहीबार १५:२५

हेटौंडा-बागमती प्रदेश सरकारले आफ्नो स्थापना दिवस नमनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको स्थापना दिवस नमनाउने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले जानकारी दिए । २९ माघमा बागमती सरकार स्थापना भएको चार वर्ष पुग्दै छ । यसअघिको तत्कालीन नेकपा र एमाले सरकारले भने स्थापना दिवस मनाउने गरेका थिए । मन्त्री खनालले संघीय सरकारले पनि स्थापना दिवस नमनाउने भएकाले प्रदेश सरकारले पनि स्थापना दिवस मनाउन उपयुक्त नठानेको बताएका छन् ।

यसअघिका स्थापना दिवसमा विभुषण, उत्कृष्ट कर्मचारी र पत्रकार पुरस्कृत हुने गरेका थिए । प्रदेश सरकारले संविधान दिवस वा गणतन्त्र दिवसको अबसर पारेर स्थापना दिवसको स्वरूपमा कार्यक्रम गर्ने मन्त्री खनालले बताए । यसका लागि उपयुक्त दिन छनौट गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई प्रस्ताव गर्न बैठकले अधिकार दिएको छ । स्थापना दिवसमा यसअघि हुने गरेका गतिविधिलाई भने निरन्तरता दिने निर्णय भएको उनले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*