बकैयाको दरबारडाँडामा ट्रान्सफर्मर पु¥याउन हेलिकप्टर चार्टड

साझाकुरा
२०७८ फाल्गुन १, आईतवार ०९:४३

हेटौंडा-वर्षौदेखि अन्धकार बकैया गाउँपालिकाको एक विकट गाउँमा हेलिकप्टर चार्टड गरेर विद्युत ट्रान्सफर्मर पु¥याइएको छ ।मुलुकका अन्य क्षेत्रमा तीव्र विद्युतिकरण भइरहेता पनि बकैयाको ७ नम्बर वडास्थित दरबार डाँडाका स्थानीय भने टुकि बत्तीको भरमै रात काट्दै आएका थिए । दरबारडाँडामा विद्युत पोल र तार टाँगिएपनि ट्रान्सफर्मर पु¥याउन नसक्दा बिजुली बाल्नबाट स्थानीय बञ्चित भएका थिए । गाउँपालिका र नेपाल विद्युत प्राधिकरण हेटौंडा वितकरण केन्द्रले यसअघि पोल गाडेर तार टाँगिसकेका थिए । दरबारडाँडामा सडक नपुगेका कारण ४ सय केजीको ट्रान्सफर्मर नसकिएको गाउँपालिका अध्यक्ष दामेदर खनालले जानकारी दिए ।

बारा जिल्लासँग सिमाना जोडिएको ७ नम्बर वडाको दरबारडाँडामा शनिवार नेपाली कांग्रेस बकैया गाउँकमिटीको पहलमा ट्रान्सफर्मर पुगेको हो । सडक नपुगेकै कारण विद्युतीकरण गर्न नसकेकाले दरबारडाँडाका करिब ७० घरधुरी अँध्यारोमा बस्न बाध्य भएको अध्यक्ष खनाल बताउँछन् । ‘दरबारडाँडाका जनता अँध्यारोमै बस्न बाध्य भएका हुन् । अब भने केही दिनभित्रै गाउँमा बिजुली पुग्छ । पोल र तार लगिसकेका थियौं, ट्रान्सफर्मर पु¥याउन नसक्दा बिजुली बत्ती बाल्न सकेका थिएनौं ।,’ खनालले साझाकुरासँग भने ।

१ लाख ९० हजार रुपैयाँ भाडा तिरेर कांग्रेसका स्थानीय नेताहरुले माउन्टेन नाइन एन एकेबी हेलिकप्टरमा ट्रान्सफर्मर लगिएको स्थानीय विजय लामा थिङले बताए । उनले दरबारडाँडाका स्थानीयको लामो समयदेखिको दुःख हटाउन गाउँपालिका अध्यक्षदेखि कांग्रेस पार्टीले भूमिका खेलेको भन्दै धन्यवाद दिए । ७ नम्बर वडाकै हर्दामाटोकरी बाट करिब ४ घण्टा उकालो चढेपछि दरबारडाँडा पुगिन्छ ।
‘बिजुली बाल्ने उद्देश्यले स्थानीयले धेरै दुःख गरेर पोल र तार पहिल्यै लगिसक्नु भएको थियो । दुःख कष्ट गरेर पोल लगेका जनतालाई जसरी भएपनि उज्यालोमा राख्नुपर्छ भनेर हेलिकप्टर चार्टर गरेर ट्रान्सफर्मर लगेका हौं ।,’ गाउँपालिका अध्यक्ष खनालले भने । हेलिकप्टर चार्टरको लागत गाउँपालिका अध्यक्ष खनालसहित, नेपाली कांग्रेस बकैयाका सभापति दिलबहादुर बोम्जन, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि ताराचन्द्र बजगाई (निशान)ले व्यहोर्ने स्थानीय थिङले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष खनालले ट्रान्सफर्मर पुगेपनि जडान नभइसकेकाले बिजुली नपुगेको बताए । तत्काल प्राविधिक पठाएर गाउँका घरघरमा बिजुली पु¥याउने उनको भनाई छ । दरबार
डाँडामा तामाङ जातीको बाक्लो बसोबास छ । गाउँपालिका अध्यक्ष खनालले दरबारडाँडामा यसअघि नै विद्युत पुगिसक्ने बताउँदै डिभिजन वन कार्यालय मकवानपुर बाधक बनेको आरोप लगाए । दरबारडाँडासँग जोड्ने सडक निर्माण गर्दा वन कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेकाले स्थानीयको बिजुली बाल्ने सपना समयमै पूरा गर्न नसकेको उनको भनाई छ ।

दरबारडाँडामा हालसम्म पनि सडक पुगेको छैन् । यसअघि चुनदेवी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा सडक निर्माण गरेको आरोपमा डिभिजन वन मकवानपुरले पालिका अध्यक्षसहित ३ जनालाई मुद्दा चलाएपछि सडक निर्माण रोकिएको थियो । बकैया–७, चुनढुंगादेखि दरबारडाँडासम्म जोड्ने बाटो निर्माण गाउँपालिकाले गरिरहेको बेला वन कार्यालयले एक्साभेटर नियन्त्रणमा लिएर अध्यक्षसहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, निर्माण समिति अध्यक्ष सिर्जना थिङ र एक्साभेटर सञ्चालकलाई जरिवाना दावी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*