बढ्यो किसान कार्डको प्रभावकारिता

मकवानपुरगढीका ५१ किसानले पाए ऋण
साझाकुरा
२०७८ फाल्गुन २, सोमबार १०:०९

हेटौंडा- जिल्लामै पहिलो पटक किसान कार्ड वितरण गरेको मकवानपुरगढी गाउँपालिकाले ५१ जना किसानलाई ऋण उपलब्ध गराएको छ । गाउँपालिकाले साना किसानहरुलाई व्यावसायिक कृषि तथा पशुपालनमा अभिप्रेरित गर्न किसान कार्डमार्फत् ऋण प्रवाह गरेको हो । गाउँपालिकाले साना र सीमान्तकृत किसानमा वित्तीय पहुँचको विस्तार गर्न क्रेडिट कार्डमार्फत् ऋण प्रवाह गरिरहेको गाउँपालिका अध्यक्ष बिदूर हुमागाईंले जानकारी दिए । हालसम्म ५१ जना साना किसानले किसान कार्ड पाइसकेको गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । पालिकाले नेपाल बंगलादेश बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिसँगको सहकार्यमा ऋण प्रवाह गरिरहेको हो ।

चालु आर्थिक वर्ष २०७८÷०७९ मा करिब दुई सय किसानलाई प्रतिकिसान दुई लाख रुपियाँको दर सस्तो व्याजदरमा क्रेडिट कार्डमार्फत् गाउँपालिकाले विना धितो ऋण प्रवाह गर्ने तयारी अगाडि बढाएको छ । चौधरीका अनुसार सहकारीमार्फत् बैंकले किसानहरुलाई ऋण उपलब्ध गराउँदै आएको छ । ‘जुन कार्यका लागि ऋण लिइएको हो । त्यही काम भएको अनुगमनपछि मात्र ऋण प्रवाह हुन्छ नत्र हुँदैन । पालिकाले नियमित अनुगमन गरिरहेको हुन्छ ।’ चौधरीले भने, ‘ऋण चुक्ता गर्ने समय पाँच वर्षको हुन्छ, जसमा किसानले मासिक करिब तीन हजार किस्ता बुझाउनु पर्छ ।’,

गाउँपालिकाले गत असार २६ गते लागनीको सुरुवात गरेको थियो । सुरुवातमा २८ जना किसानलाई पालिकाले किसान कार्ड उपलब्ध गराएको थियो । गाउँमा अधिकांश परिवार कृषि पेशामा संलग्न रहेको साना कृषक परिवारसम्म वित्तीय पहुँच नभएको र पूँजी अभावका कारण व्यवसाय सुरुवात गर्न नसकेका साना कृषक परिवारलाई लक्षित गरेर यस कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष हुमागाईंले बताए । ‘व्यवसाय सुरुवात गर्न र सुरुवात गरिसकेकाहरुको लागि व्यवसाय बिस्तार गर्न सहयोग हुने गरी यो योजना ल्याइएको हो’, हुमागाईंले भने ।

३ नम्बर वडाको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाबाट ३३ जना किसान, ५ नम्बर वडाको वन तथा काष्ठजन्य विविधीकरण सहकारी संस्थाबाट १० जना र ७ नम्बर वडाको जनप्रगतिशील दुग्ध उत्पादक सहकारी संस्थाबाट ८ जना गरी ५१ जना साना किसानले ऋण लिएका हुन् । सबै किसानले दुई लाख रुपियाँका दरले एक करोड दुई लाख ऋण लिएको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिएका छन् । ‘थप ६५ जना किसानहरुको फाइल बैंकमा लगानीको प्रक्रियामा छ’, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*