एमसीसीविरुद्ध समाजवादीको प्रदर्शन

साझाकुरा
२०७८ फाल्गुन २, सोमबार १०:२१

हेटौंडा- सत्ता गठबन्धनकै नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ ।सरकारको नेतृत्व गरिरहका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न गठबन्धनमा दबाब बढाइरहेका बेला एकीकृत समाजवादीले विरोधको कार्यक्रम देशभर सुरु गरेको छ ।नेकपा एकीकृत समाजवादीमा आबद्ध जनवर्गीय संगठनहरुको आयोजनामा आइतबार हेटौंडाको सीमाचोकमा एमसीसीविरुद्ध प्रदर्शन भएको हो । हेटौंडाको शितलमहल चोकबाट सुरु भएको प्रदर्शन बुद्धचोकहुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रमअन्तर्गत् हेटौंडामा पनि प्रदर्शन गरिएको अनेरास्ववियुका नेता आकाश अधिकारीले जानकारी दिए । सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । पन्तले केपी ओली सरकारले संसदबाट पास गर्नुपर्ने सम्झौता गरेर एमसीसी
राष्ट्रघाती काम गरेकाले यो परियोजना कुनै हालतमा कार्यान्वयन गर्न नहुने बताए ।

अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताउँदै एमसीसीलाई टुंगो नलाग्दासम्म आफूहरु आन्दोलित भइराख्ने चेतावनी दिए । उनले मुलुकलाई घात हुने सम्झौता नगर्न नेताहरुलाई चेतावनी पनि दिए । विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य मुनु सिग्देल, पार्टी मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाललगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*