बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
हेटौंडा-बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ह्दयघातका कारण करिब ८ वर्षअघि मुटुमा राखिएको पेस मेकर परिवर्तन गर्दैछन् ।शर्मा काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा पेस मेकर परिवर्तन गर्न मंगलबार भर्ना भएका छन् । उनको भोली बुधवार शल्यक्रिया रहेको उनका प्रमुख स्वकीय सचिव पारसमणि फुयालले जानकारी दिए । पाँच दलीय गठबन्धन सरकार बनेपछि शर्मा बागमतीमा प्रदेश प्रमुख नियुक्त भएका थिए । पेस मेकर मुटुको धड्कन नियन्त्रणमा राख्न प्रयोग गरिने चिकित्सा उपकरण हो ।
शर्माको मुटुमा राखिएको पेस मेकर परिवर्तन गर्न सरकारले खर्च व्यहोर्ने भएको छ । उनका प्रमुख स्वकीय सचिव फुयालले नियम अनुसार सरकारको खर्चमा पेस मेकर फेर्न लागेको जानकारी दिए । शर्मा गत असोजमा मुटुमा समस्या देखिएपछि गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा करिब १३ दिनको उपचारपछि काममा फर्किएका थिए ।