‘सभापतिमा पराजुली नै बलियो’

अधिवेशनमा होमियो मकवानपुर काँग्रेस, नेतृत्वमा चार आकांक्षी
साझाकुरा
२०७८ फाल्गुन ५, बिहीबार १२:३७

हेटौंडा- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् मकवानपुरको जिल्ला अधिवेशन आगामी १३ फागुनमा हुँदैछ । अधिवेशन नजिकिएसंगै सबै नेता कार्यकर्ताहरु जिल्लाको सक्षम नेतृत्व चयनका लागि बहस र छलफलमा केन्द्रित भएका छन् ।जिल्ला अधिवेशनमा सभापति, उपसभापतिलगायत पदाधिकारी तथा जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणाको क्रमले तीव्रता पाएको छ । जिल्ला सभापति पदमा भने हालसम्म चार जना नेताले आफ्नो उम्मेदवारी रहने घोषणा गरेर कार्यकर्तामाझ मत माग्न व्यस्त देखिन्छ ।

सभापति पदमा हालसम्म निवर्तमान हेटौंडा नगरसभापति तथा पूर्वा जिल्ला सचिव आनन्दराम पराजुली, वर्तमान कार्यबाहक सभापति विष्णु लामिछाने, वर्तमान जिल्ला सचिव बुद्ध लामा र सल्लाहकार जयराम लामिछाने यतिखेर चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको पदाधिकारी र सदस्य पदभन्दा सभापति पदमा हुने निर्वाचनमा भने सबैको चासो देखिएको छ ।सभापति पदमा चार जना आकांक्षी देखिएपछि पार्टीको नेतृत्व कस्ले गर्ला भन्नेमा आम चासोका रुपमा हेरिएको छ । देशव्यापीरुपमा काँग्रेस बलियो हुँदै गएको सन्देश फैलिरहेको अवस्थामा कम्युनिष्ट पार्टीको गढको रुपमा
रहेको मकवानपुरमा काँग्रेस पार्टीको सभापति को हुन्छ ? भन्ने विशेष चासोका साथ हेरिएको छ ।

सभापतिमा कांग्रेस संस्थापन पक्षका आनन्दराम पराजुली, विष्णु लामिछाने र बुद्ध लामा तथा संस्थापनइत्तरका उम्मेदवार जयराम लामिछाने मैदानमा उत्रने भएका छन् ।पराजुली, तरुण दल जिल्ला सभापति, पार्टी जिल्ला सचिव, पार्टी हेटौंडा नगर सभापति हुँदै जिल्ला सभापति जित्ने दाउले चुनावी मैदानमा होमिएका छन् । चार जना उम्मेदबारमध्ये पराजुली नै प्रभावशाली उम्मेदवार रहेको नेता कार्यकर्ताहरुले बताएका छन् । उनले सार्वजनिक कार्यक्रमहरुमा पनि आफ्नो जीत पहिलो चरणमै हुने दाबी गर्दै आएका छन् ।नेता, कार्यकर्ताको दुःखमा निरन्तर साथ दिने नेताको परिचय बनाएका पराजुलीले यसवर्ष सभापतिमा बाजी मार्ने कार्यकर्ताहरुको विश्वास छ ।

‘सभापतिमा अन्य उम्मेदबारपनि हुनुहुन्छ । उहाँहरुप्रति मेरो सम्मान छ । तर, कांग्रेसलाई अहिलेको लागि सभापतिको योग्य उम्मेदवार भनेको आनन्दराम पराजुली नै हो । उहाँको जीत पक्का छ’, तरुण दलका एक नेताले भने । ‘पराजुलीले कार्यकर्तादेखि नेताको समस्या हल गर्न खटिनु हुन्छ । कार्यकर्ताको भावना बुझ्ने नेताले सभापति नजिते कस्ले जित्छ ?’ ती तरुण नेताले भने– ‘पार्टीलाई चलायमान बनाएर आगामी निर्वाचनमा जिल्लालाई कांग्रेसमय बनाउने लक्ष्य पुराजुलीसँग छ ।’

पराजुलीको पार्टी बलियो बनाउने योजनाले नै नेता, कार्यकर्ताले उनलाई नै जिताउने चाहना प्रकट गरिरहेको बुझिन्छ । सभापतिका उम्मेदवार पराजुली अडान कायम राख्ने नेताका रुपमा परिचित भएकाले पनि उनलाई कार्यकर्ताहरुले रुचाएको पाइएको छ ।पराजुलीलाई हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीसहित क्षेत्र नं. १ संघीय सभापति दामोदर खनाल र अधिकांश पालिकाका सभापतिको समर्थन
रहेको बुझिएको छ । पराजुलीले कोरोनाको पहिलो चरणको राहत वितरणदेखि तेस्रो चरणसम्म निरन्तर जनताको सेवामा रहेको, हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा झिनो मतान्तरले पराजित भएपनि निरन्तर नगरबासीको सेवामा खटेको र जिल्लाका सबै क्षेत्रका कार्यकर्ताको समस्यामा निरन्तर लागेकोले उनी नै बलियो सभापतिले उम्मेदवार भएको र उनले नै जिल्ला हाँक्न सक्ने वडाका अधिकांश सभापतिहरु विश्वस्त रहेको पाइएको छ । उनले ग्रामीण विद्यालयका विपन्न बालबालिकादेखि, महिला र बृद्धसम्मलाई पटक–पटक आर्थिकदेखि जिन्सी सहयोग उपलब्ध गराउँदै सामाजिक कार्यमा सक्रिय भएको पाइन्छ ।

पराजुलीलाई टक्कर दिन संस्थापनइत्तरका सभापतिका उम्मेदबार पार्टीका सल्लाहकार तथा महाधिवेशन प्रतिनिधि जयराम लामिछाने मैदानमा छन् । निर्माण व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष भएर देशव्यापी नाम कमाएका उनी पनि गाउँमा सडक पु¥याउनेदेखि खानेपानी समस्या भएको ठाउँमा पाइप दिएर सामाजिक कार्यमा सक्रिय छन् । लामिछानेले पार्टी सभापतिमा आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।

सभापति पदका अर्का उम्मेदवारद्वय वर्तमान सचिव बुद्ध लामा र हालका कार्यबाहक सभापति विष्णु लामिछोने पनि बलियो सम्भावना रहेको नेताहरुको भनाइ छ । लामा सालिन र पार्टीमा
निरन्तर काम गरिरहेका नेता हुन् भने विष्णु लामिछाने मकवानपुर कांग्रेसका अनुभवी नेता हुन् ।कांग्रेस मकवानपुरको राजनीतिमा केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको भूमिका के हुने भन्ने आम कार्यकर्तामा चासो देखिएको छ । संस्थापन पक्षबाट एकमात्र उम्मेदबार हुँदा को हुने भन्ने चासो एकातिर छ भने चारैजना उम्मेदबार हुँदा के नतिजा आउला भन्ने विषयमा चोकचौतारोमा विभिन्न खालका अड्कलबाजीहरु भइरहेका छन् ।सह–महामन्त्री डीना र बानियाँ पार्टी सभापति शेरबहदुर देउवा गुटका नेता हुन् । जिल्लामा संस्थापनबाटै तीन जनाको उम्मेदवारी घोषणा भएपछि यी दुवै नेताले आफ्नो आधिकारिक उम्मेदवारबारे खुलेर बोलेका छैनन् । नेताहरुका अनुसार संस्थापनबाट आधिकारिक उम्मेदवार पराजुली बन्ने सम्भावना बलियो रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*