आन्तरिक प्रतिस्पर्धा सकियो, अब स्थानीयतह निर्वाचनको तयारी थालौं

मतदातालाई धन्यवाद दिँदै नेता पराजुलीले भने
साझाकुरा
२०७८ फाल्गुन २०, शुक्रबार ११:१५

हेटौंडा- नेपाली कांग्रेस मकवानपुरको १४ औं अधिवेशनमा सभापति पदका आकांक्षी आनन्दराम पराजुली अधिवेशन सकिएलगत्तै प्रतिनिधिलाई धन्यवाद वडावडा छिरेका छन् । उनले विहीबार हेटौंडाको चार वटा वडाका प्रतिनिधिहरुलाई भेटेर अधिवेशनमा सहभागी भएकोमा धन्यवाद ज्ञापन गरे ।हेटौंडा उपमहानगरका १, ४, ११ र १९ नम्बर वडाका प्रतिनिधिहरुलाई भेटेर उनले पार्टीको आन्तरिक प्रतिस्पर्धा सकिएको र अब नजिकिँदै गरेको स्थानीयतहको निर्वाचनलक्षित कार्यक्रममा अगाडि बढ्न वडास्तरीय नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

पराजुलीले जिल्ला अधिवेशनको पहिलो चरण मतदानमा दोस्रो स्थान पाएपछि दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्नेमा पार्टीमा बढी भोट ल्याउने बुद्ध लामालाई समर्थन गरेर
निर्बिरोध नेतृत्व चयनमा सघाएका थिए । निर्बिरोध नेतृत्व चयनमा महत्वपूर्ण भूमिका खेलेकोमा कार्यकर्तावृत्तमा चर्चा भइरहेको अवस्थामा अधिवेशन सकिएलगत्तै उनी पुनः कार्यकर्तामाझ पुगेका हुन् ।
‘आन्तरिक प्रतिस्पर्धामा जे भयो अब त्यसलाई बिर्सेर आउँदै गरेको स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुहोस्’, हेटौंडा–१ का प्रतिनिधिहरुको भेटमा नेता पराजुलीले भने– ‘अब जित्नेले पार्टी हाँक्ने हो, हार्नेले सघाउने वातावरण बनाएर अगाडि जानुपर्छ ।’

स्थानीय तहको चुनाव अगाडि टोलटोलमा पार्टीको समितिहरु बनाएर चुनाव प्रचारप्रसार गर्ने, जनताको समस्या बुझ्ने र समाधानको पहल गर्नेमा ध्यान दिनुपर्नेमा सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिन उनले आग्रह गरेका छन् ।भेटघाट कार्यक्रममा हेटौंडा नगर सभापति उत्सव इटेनी, सचिव सविन न्यौपाने, उपसभापतिका आकांक्षी रमेश गिरी, सचिवका आकांक्षी यतिराज सापकोटालगायत नेताहरु सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*