कांग्रेस जिताउन लागौंः पराजुली

साझाकुरा
२०७८ फाल्गुन २६, बिहीबार १०:३५

हेटौंडा- आन्तरिक प्रतिस्पर्धाको विषयलाई लिएर अब कांग्रेसलाई जिताउनु पर्नेमा नेता आनन्दराम पराजुलीले जोड दिएका छन्।नेपाली कांग्रेस मकवानपुरका नेता पराजुलीले पार्टीको अधिवेशन तथा आन्तरिक प्रतिस्पर्धा सकिएकोले अब एकढिक्का भएर चुनाव केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् । जिल्लास्थित पूर्वी क्षेत्रको बागमती गाउँपालिका–१ नम्बर वडामा भएको पार्टी प्रवेश तथा तरुण दल र महिला संघ गठन कार्यक्रममा उनले अब आन्तरिक प्रतिस्पर्धाको बिषयलाई बिर्सेर कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताएका हुन् । ‘लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु सामान्य हो । नेताहरुले पार्टीको पदमा दावी गर्नु झनै सामान्य हो’, उनले भने ।

‘आन्तरिक निर्वाचनको कुरालाई यहिँ छोडेर अब सबै कांग्रेसी एकढिक्का भएर नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु आवश्यक छ’, पराजुलीले थपे । कांग्रेसको केन्द्रीय कार्यसमितिले घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै उनले सबै स्थानीय तहमा कांग्रेसलाई जिताउने गरी लाग्नुपर्ने बताए । आन्तरिक मतभेदमा लागे फेरि ५ बर्ष पछिपर्ने अवस्था आउने नेता पराजुलीको भनाइ थियो ।

कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा राप्रपाको तर्फबाट वडा सदस्य पदका उम्मेदवार रहेका रनमाया राईसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी ८९ जना कांग्रेसमा प्रवेश गरेका थिए । बागमती गाउँपालिका–१ नम्बर वडा सभापति संंजय राईको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका नेताहरु मीरा स्याङ्तान, प्रमिला खतिवडा, सुनिता राई, गीता न्यौपाने, शंकर पराजुली, काजीमान थिङ, छवि बोम्जनलगायतका नेताहरुको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*