एमाले मकवानपुरमा बढ्यो असन्तुष्टि

जिम्मेवारी र मनोनितको विषयलाई लिएर सामाजिक सञ्जालमा पार्टी परित्यागका घोषणा
साझाकुरा
२०७८ फाल्गुन २७, शुक्रबार ०९:२८

हेटौंडा- जिम्मेवारी बाँडफाँडको विषयलाई लिएर नेकपा एमाले मकवानपुरभित्र विवाद चर्किएको छ । विवादले पार्टी छोड्नेसम्मको अभिव्यक्ति सतहमा आएका छन् ।
नेकपा एमाले मकवानपुरको बुधबार बसेको जिल्ला कमिटी बैठकले सचिवालय बनाउनुका साथै जिल्ला कमिटीमा रहेकाहरुलाई जिम्मेबारी बाँडफाँड गरेको थियो । बैठकले विभिन्न विभाग र जनवर्गीय संगठनको इन्चार्जको जिम्मेवारी दिएकोप्रति विवाद उत्पन्न भएको हो ।

बैठकले २८ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले प्रौढ, युवा, खेलाडी, विद्यार्थी, महिला, जनजाति, जनवर्गीय संगठनलगायत विभिन्न क्षेत्रबाट समेट्ने गरी जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको जानकारी दिए ।एमाले मकवानपुरको निर्णयसँगै नेताहरु रुष्ट बनेका हुन् । नेतृत्वसँग असन्तुष्ट बनेका चार जनाले सामाजिक सञ्जालमा पार्टी छोड्नेसम्मको अभिव्यक्ति दिए । पार्टी सचिवालय सदस्य फुर्वा दोर्जे लामा, उत्तम शर्मा न्यौपाने, सानु लामा र रमिला सापकोटाले सामाजिक सञ्जालमा नेतृत्वप्रति असन्तुष्टि पोखेका हुन् । हेटौंडा–१० मा महत्वपूर्ण प्रभाव पार्ने नेता लामाले ‘पार्टी जिल्ला कमिटीको संगठित जिम्मेवारीबाट बिदा लिने दिन आए जस्तो छ’ भन्दै असन्तुष्टि राखेका थिए । अर्का नेता उत्तम शर्मा न्यौपानेले ‘लामो शृंखलाबाट बिदा हुने निर्णय गरें’, भनेका छन् ।

मकवानपुरे युवाहरुको नेतृत्व गर्दै आएका जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सानु लामाले कसैलाई दोष नलगाई पार्टीको गतिविधिमा संलग्न नहुने धारणा व्यक्त गरेका छन् । महिला आन्दोलन र नागरिक समाजमा सक्रिय नेतृ सापकोटाले आफूले राजनीति गर्न नजानेको र अबदेखि कोशिस पनि नगर्ने भन्दै विश्राम लिन चाहेको बताएकी छन् । सापकोटाले प्रदेश सुशासन केन्द्रको सदस्य पदबाट राजिनामासमेत दिएको बताएकी छन् । उनी एमालेबाट सदस्यमा नियुक्त भएकी थिइन् ।

एमाले जिल्ला कमिटी बैठकले जिल्ला सदस्यमा सन्तोष चौलागाई, धरमबहादुर लामा, सुधीर थापा, सुवोध रिमाल, विष्णु चौलागाई, राजन दंगाल, शुभराज थिङ, जगन्नाथ पाण्डे, ईश्वर मैनाली, शिवहरि दाहाल, सन्तोष पौडेल, सुरेन्द्र विष्ट, नरेन्द्रलाल रिजाल, शालिकराम ढकाल, बखतलाल चेपाङ, रामचन्द्र न्यौपाने, विष्णु ढकाल, कुमारबहादुर केसी, बिमला बर्तौला, सरिता परियारलाई मनोनित गरेको थियो । बैठकले एकसय ३० जनालाई सल्लाहकार चयन पनि गरेको छ । ७० वर्षभन्दा बढी उमेरका पार्टीका नेताहरुलाई सम्मान गर्ने गरी ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*