सिन्धुलीलाई हराउँदै मकवानपुर अन्तिम चारमा

साझाकुरा
२०७८ चैत्र ३, बिहीबार ०९:१७

हेटौंडा- प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् हेटौंडामा जारी पुरुष फुटबलतर्फ मकवानपुर अन्तिम चारमा प्रवेश गरेको छ ।क्वार्टरफाइनलमा सिन्धुलीलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुग्ने मकवानपुर पहिलो टिम बनेको हो । बुधबार घरेलु मैदानमा भएको खेलमा मकवानपुरका लागि ललित चौलागाईंले पहिलो गोल गरे । खेलको १८ औं मिनेटमा अमिर श्रेष्ठले दिएको पासलाई चौलागाईंले सिन्धुलीका गोलरक्षक सुरेश साढा डिबक्स बाहिर आएको मौका छोप्दै बललाई जाली चुमाएका थिए । सुनिल घलानले पहिलो हाफमा अतिरिक्त समयमा सेन्टर लाइनबाट हानेको प्रहारले सेकेण्ड बार च्याप्दै गोल हुन पुग्यो ।

मकवानपुरका लागि तेस्रो गोल खेलको ७४ औं मिनेटमा समिरराज थोकरले गरे । मकवानपुरले फाइनल प्रवेशका लागि आज बिहीवार हुने भक्तपुर र दोलखाको बिजयीसँग शुक्रबार भिड्नेछ । बुधबार नै भएको अर्को खेलमा धादिङले काभ्रेलाई १–० गोल अन्तरले हराएको छ । खेलको २४ औं मिनेटमा विपिन कँडेलले टिमका लागि निर्णायक गोल गरे । गृह जिल्ला धादिङलाई हौसला बढाउन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल मैदान पुगेका थिए । धादिङले फाइनल प्रवेशका लागि आज हुने ललितपुर र
रामेछापबीचको बिजेतासँग शुक्रबार खेल्ने छ ।

यसैगरी, चितवनमा भइरहेको पुरुष क्रिकेटतर्फ पहिलो खेल रामेछाप र नुवाकोटले खेलेका छन् । टस जितेर ब्याटिङ रोजेको नुवाकोटले २ विकेट गुमाएर रामेछापलाई दुईसय ५६ रनको लक्ष्य दिएको थियो । रामेछापले १५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमै अलआउट भयो । नुवाकोटका राजेश रिमालले शतक पूरा गरेका छन् । उनले एकै खेलमा एकसय ५९ रन जोडेका थिए । दोस्रो खेलमा रसुवाले टस जितेर ब्याटिङ रोजेर १३ ओभरमा पूरै विकेट गुमाउदैं ५१ रन बनाएको थियो । धादिङले ५ ओभरमै एक विकेट गुमाएर लक्ष्य हासिल गर्दै अघिल्लो चरण प्रवेश गरेको खेल संयोजक प्रेमबहादुर क्षेत्रीले बताए ।

क्रिकेटमा आज बिहीबार दुई खेल हुनेछ । पहिलो खेल ललितपुर र दोलखा तथा दोस्रो खेल सिन्धुपाल्चोक र काभ्रेबीच हुने क्षेत्रीले बताए । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन । प्रतियोगिताअन्तर्गत् चितवनमै भएको महिला भलिबलतर्फ चितवन र रामेछाप फाइनल प्रवेश गरेका छन् । रामेछापले सिन्धुलीलाई २५–१०, १५–२५, २५–१४, २५–२० ले
हराउँदै फाइनल प्रवेश गरेको हो ।चितवनले दोलखालाई २५–१२, २५–९, २५–८ को सोझो सेटमा हराएको छ । पुरुष भलिवलतर्फ भने चितवन र सिन्धुली फाइनल प्रवेश गरेका छन् । सेमिफाइनलमा सिन्धुलीले सिन्धुपाल्चोकलाई तथा चितवनले दोलखालाई हराउदैं फाइनल प्रवेश गरेको खेल संयोजक अशोककाजी थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*