उपाधि होडमा मकवानपुर

साझाकुरा
२०७८ चैत्र ५, शनिबार ०८:२६

हेटौंडा-प्रथम प्रदेश खेलकुद प्रतियोगिता–२०७८ अन्तर्गत् हेटौंडामा जारी पुरुष फुटबलतर्फ मकवानपुर उपाधि नजिक पुगेको छ ।हेटौंडा–५ क्याम्पा रंगशालास्थित घरेलु मैदानमा मकवानपुरले दोलखालाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको छ । खेलको १४ औं मिनेटमा समिरराज थोकरले गोल गर्दै मकवानपुरलाई अग्रता दिलाए । खेलको ३४ औं मिनेटमा मकवानपुरका ललित चौलागार्इंले एक गोल थपे । खेलको ५५ मिनेटमा समिरराज थोकरले थप एक गोल गरे । मकवानपुरका लागि अमिर श्रेष्ठ र अनिष महर्जनले एक÷एक गोल थप्दै अन्तर फराकिलो बनाएका थिए । दोस्रो हाफको ५३ औं मिनेटमा दोलखाका स्वयम् श्रेष्ठले ५३ गोल फर्काएका थिए ।

क्वाटरफाइनलमा मकवानपुरले सिन्धुलीलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो । दोलखाले बिहीवार भक्तपुरलाई पराजित गर्दै मकवानपुरसँग भेट निश्चित गरेको थियो । यसैगरी शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा ललितपुरले धादिङलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले हराएको थियो । उपाधिका लागि मकवानपुर र ललितपुर आइतबार भिड्ने खेल संयोजक कल्पना शर्माले जानकारी दिइन् ।
मकवानपुर सेमिफाइनल पुग्यो
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भइरहेको पुरुषतर्फको क्रिकेटमा मकवानपुर र काभ्रे सेमिफाइनल प्रवेश गरेका छन् ।शुक्रबार भएको पहिलो खेलमा काभ्रे ८ विकेटले विजयी भएको छ । भक्तपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । काभ्रेले १२ दशमलव ५ ओभरमै २ विकेट गुमाउदैं १३३ रन बनाएको थियो । त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ललितपुरलाई १ सय ५८ को लक्ष्य दिएको थियो । ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्रै बनाएको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । आज शनिबार क्रिकेटका दुई खेल हुने छन् ।

यसैगरी, मकवानपुरमा आज शनिवारदेखि तेक्वान्दो प्रतियोगिता सुरु हुँदैछ । हेटौंडा–४ पारिजातपथमा रहेको कभर्डहलमा खेल हुने खेल संयोजक माधव कोइरालाले बताए । प्रतियोगितामा १३ जिल्लाकै सहभागिता रहेको छ । काठमाडौंमा चैत ६ गतेदेखि एथ्लेटिक्स प्रतियोगिता हुने र सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराते खेल हुने आयोजक प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । काभ्रेमा चैत ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*