फुटबल उपाधिका लागि आज मकवानपुर र ललितपुर भिड्ने

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता
साझाकुरा
२०७८ चैत्र ६, आईतवार ०९:१५

हेटौंडा- प्रथम प्रदेश खेलकुद प्रतियोगिता–२०७८ अन्तर्गत् हेटौंडामा जारी पुरुष फुटबलतर्फ फाइनलमा आज आइतबार मकवानपुर र ललितपुर भिड्दै छन् ।शुक्रबार हेटौंडा–५ क्याम्पा रंगशालास्थित घरेलु मैदानमा दोलखालाई ५–१ गोल अन्तरले हराउँदै मकवानपुरले फाइनलमा ललितपुरसँग भेट पक्का गरेको हो । क्वार्टरफाइनलमा मकवानपुरले सिन्धुलीलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो । शुक्रबार ललितपुरले धादिङलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेको थियो ।
हेटौंडामा तेक्वान्दो सुरु
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिता अन्तर्गत् शनिबारदेखि हेटौंडामा तेक्वान्दो खेल सुरु भएको छ ।खेल संयोजक माधव कोइरालाको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख अतिथ्यतामा तेक्वान्दो खेलको उद्घाटन भएको हो । कार्यक्रममा परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्यहरु माधव तिमल्सिना, हिक्मत थपलिया, तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ, जिल्ला तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष लालकाजीरत्न बज्रचार्यलगायतको आतिथ्यता थियो । सोमबारसम्म हुने खेलमा शनिबार ५३ केजी मुनिको महिलातर्फ धादिङको प्रतिका तामाङलाई हराउँदै सिन्धुपाल्चोककी अन्जली तामाङ फाइनल प्रवेश गरेकी छन् । दोलखाका अनुका जिरेललाई हराउँदै काठमाडौंकी रमिला रोक्का फाइनल प्रवेश गरेकी छन् ।

५४ केजी मुनिको पुरुषतर्फ मकवानपुरका विप्लव वाईवालाई हराउँदै काभ्रेका रोशन केसी, भक्तपुरका सञ्जय लामालाई हराउँदै दोलखाका रोशन खत्री फाइनल प्रवेश गरेको खेल संयोजक कोइरालाले बताए । आज तेक्वान्दोका बाँकी खेल हुनेछन् । यसैगरी, चितवनमा भइरहेको पुरुषतर्फको क्रिकेटमा धादिङ र चितवन सेमीफाइनल प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ राजेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउदैं एकसय ८१ रन बनाएको थियो । धादिङले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर सेमिफाइनल यात्रा तय गरेको छ । सोमबार हुने सेमिफाइनलमा धादिङले काभ्रेसँग खेल्नेछ ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले १० विकेट गुमाउँदै १९ दशमलव ५ ओभरमा २ सय १७ रन बनाएको थियो । नुवाकोटले २० ओभरमा ९ विकेट गुमाएर एकसय १३ रन बनायो । चितवन एकसय ४ रनले विजयी भएको छ । चितवनले आइतबार मकवानपुरसँग फाइनल प्रवेशका लागि खेल्ने खेल संयोजक प्रेमबहादुर क्षेत्रीले बताए ।प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् काठमाडौंमा आज आइतबारबाट एथ्लेटिक्स प्रतियोगिता हुनेछ । दशरथ रंगशालामा हुने एथ्लेटिक्सका लागि सबै तयारी सकिएको खेल संयोजक आरके विष्टले बताए । सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराते र काभ्रेमा सोही दिनदेखि महिला फुटबल हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*