कमल थापाको पछाडि कोही छैनन्ः अधिकारी

साझाकुरा
२०७८ चैत्र ९, बुधबार १२:३१

हेटौंडा- राप्रपा मकवानपुरलाई कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित गर्ने विषय भ्रम फैलाउन हल्ला गरिएको राप्रपाका पूर्वकेन्द्रीय सदस्य मधु अधिकारीले बताएका छन् ।साझाकुरामा राप्रपा मकवानपुरलाई कमल थापाको पार्टीमा समाहित गर्ने तयारीबारे मंगलबार समाचार सम्प्रेक्षण भएपछि उनले त्यो भ्रम फैलाउन रचिएको हल्लामात्र भएको प्रतिक्रिया दिएका हुन् । राप्रपा मकवानपुरको अध्यक्ष रहेका गुरु सापकोटाले थापाको पार्टीमा समाहित हुनेबारे छलफल भइरहेको साझाकुरासँग स्वीकार गरेका थिए । राप्रपाका पूर्वकेन्द्रीय सदस्य अधिकारीले कमल थापाको पक्षमा जिल्लाका कोही पनि नेता नरहेको जनाए । थापाहरुको राप्रपा मकवानपुरलाई बिगार्ने सपना पूरा नहुने उनले बताए ।

अधिकारीले थापाको पार्टीमा राप्रपाको जिल्ला कमिटीलाई समाहित गर्ने तयारी गरेको सुनेपनि उनीहरुको सपना भने पूरा नहुने जिकिर गरे । नेता नभएकै कारण थापाले मकवानपुरमा जिल्ला कमिटी गठन गर्न नसकेको उनको दाबी छ । ‘कमल थापाको पक्षमा नेता नै छैनन् । सबैजना मूलधारमै हुनुहुन्छ । थापाको पक्षमा नेता भएको भए जिल्ला कमिटी बनिसक्थ्यो, खोई अहिलेसम्म जिल्ला कमिटी बनेको छैन’, अधिकारीले साझाकुरासँग भने ।

‘राप्रपाको सिंड्डो जिल्ला कमिटी एक ठाउँमा छ । उनीहरुले भ्रम फैलाएर हल्ला गरेपनि सत्य होइन । ‘थापाको साथमा एक–दुई जना होलान् । उनीहरु राप्रपाबाट राजीनामा दिएर जाँदा जिल्ला कमिटी तलमाथि हुँदैन’, अधिकारी भन्छन् । राप्रपाको जिल्ला अध्यक्ष जान खोजेपनि राजीनामा दिएर जान उनले सुझाए । राप्रपा मकवानपुरका सचिव सागर थापाले राप्रपा मकवानपुर राप्रपा नेपालमा समाहित हुने विषयमा सत्यता नरहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को गत १९ मंसिरमा भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापा राप्रपा नेपाल पार्टीको नेतृत्व गरिरहेका छन् । २५ माघमा हेटौंडा आएर
राप्रपा परित्याग गरेका थापाले आफ्नो पुरानै पार्टी ब्युँताउँदै राप्रपा नेपालको अध्यक्ष बनेका थिए । प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर १ बाट चुनाव लड्ने तयारी गरेका थापालाई जिल्लामा पार्टी विस्तार गर्नु अपरिहार्य छ । तर, राप्रपा मकवानपुरका पुराना नेताहरुले थापाको साथ छोडेपछि उनी संकटमा रहेको आंकलन छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*