बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

साझाकुरा
२०७८ चैत्र १०, बिहीबार १२:१४

हेटौंडा- बागमती प्रदेश सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालू अवस्थामा रहेको नवौ अर्थात हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोहि आधारमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार राती १२ बजेबाट लागु हुनेगरि अधिवेशनको अन्त्य गरेका हुन् । प्रमुख प्रतिक्षी दल नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन भएपछि दुईपटक मात्रै बैठक बसेर सरकारले अधिवेशन नै अन्त्य गर्ने भएको छ ।

प्रदेश सरकारले वैशाखबाट वर्षे अर्थात बजेट अधिवेशत सञ्चालन गर्ने तयारी समेत गरेको छ । प्रतिपक्षी दल एमालेको अवरोधका कारण पुस ८ गतदेखी स्थगित बैठक फागुन २९ गते र चैतको ८ गते मंगलबार बसेको थियो । २९ गते बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले एमालेले उठाएको जवाफ दिएका थिए । त्यस्तैगरि लामो समयदेखी संसदको सम्बन्धीत समितीमा अड्किएको केहि विधेयकसमेत सो बैठकले पारित गरेको थियो । मंगलबार बसेको बैठकले ३ वटा विधेयकलाई दफावार छलफलको लागि सम्बन्धीत समितीमा पठाएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्दै प्रदेशका स्वास्थ्यमन्त्री लामाले मन्त्रिपरिषद् बैठकले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परिक्षा स्थल छनौट तथा सञ्चालन कार्यविधि,२०७८ स्विकृत गरेको जानकारी दिए । यस्तैगरि बैठकले प्रदेश विकास कार्यक्रम विशेष अन्तर्गतका आयोजना संशोधन पनि स्विकृत गरेको छ । प्रदेश पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत पुर्वाधार,शिक्षा र स्वास्थ्यतर्फको आयोजना स्विकृत,प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धमा मापदण्ड,२०७८ स्विकृत,प्रदेश निजामती सेवा विधेयकको सैद्वान्तिक स्विकृती दिने पनि निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*