कांग्रेस हेटौंडा नगर समितिको पूर्ण बैठक

२० सदस्य र तीन सल्लाहकार मनोनित, कार्यसम्पादन समिति गठन, मेयरमा निरन्तर खट्नेलाई टिकट दिन सुझाव
साझाकुरा
२०७८ चैत्र १२, शनिबार १८:४०

हेटौंडा- नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिमा कोषाध्यक्ष सहित २० जना सदस्य तथा तीन सदस्य मनोनित गरिएको छ । नेपाली कांग्रेस, हेटौंडा नगर समितिको शुक्रबार सम्पन्न तेस्रो पूर्ण बैठकले नगर कोषाध्यक्षमा कूलप्रसाद चौलागाईं, आमन्त्रित तीनसहित २० सदस्य मनोनित गरेको छ ।बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट हेटौंडा उपमहानगरमा क्षेत्रमा पर्ने विकास निर्माण र अन्य योजनाहरू समेटेर निर्वाचन घोषणापत्र तयार गर्न कृष्णप्रसाद दाहालको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति र व्यवस्थापन समिति गठन गरिएको छ । समिति सहसंयोजकमा राजाबाबु पहाडी र व्यवस्थापन समितिमा नगर सभापति उत्सव इटेनीको संयोजकत्वमा ८ सदस्य रहेका छन् ।

बैठकले आगामी स्थानीय तहको निर्वाचनको हेटौंडा नगरमा निर्वाचनसम्बन्धी कार्यको अनुगमन तथा सहजीकरण गर्न सभापति उत्सव इटेनीलाई हेटौंडा–११,१३,१९,७,९,उपसभापति रामकृष्ण कोइरालालाई वडा नम्बर १६ र १७, उपसभापति डोल्मा स्याङ्बोलाई वडा नम्बर ५ र ६, सचिव सविन न्यौपानेलाई वडा नम्बर १ र १०, सचिव हर्करत्न लामालाई वडा नम्बर ८, १३, १४, १५, सहसचिव विकास बानियाँलाई वडा नम्बर २ र १८ र सह–सचिव निगमलाल श्रेष्ठलाई वडा नम्बर ४ र १२ को प्रतिनिधि चयन गरेको कांग्रेस हेटौंडा नगर सचिव सविन न्यौपानेले बताएका छन् ।

त्यसैगरी, बैठकले नेपाली कांग्रेसको बिधानको दफा ५ को उपदफा क र ख बमोजिम सभापति उत्सव इटेनी, उपसभापति रामकृष्ण कोइराला, उपसभापति डोल्मा स्याङ्बो, सचिव सविन न्यौपाने, सचिव हर्करत्न लामा, कोषाध्यक्ष कूलप्रसाद चौलागाई, सहसचिव विकास बानियाँ, सह–सचिव निगमलाल श्रेष्ठसहित २४ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ । त्यसैगरी, कांग्रेस हेटौंडा उपमहानगरको तेस्रो बैठकले सल्लाहकारमा महेन्द्र राउत, बिजेन्द्र अग्रवाल र प्रेस सल्लाहकारमा प्रेस युनियन मकवानपुरका महाधिवेशन प्रतिनिधि सुनिल शिवाकोटीलाई मनोनित गरेको सचिव न्यौपानेले जानकारी दिएका छन् । त्यसैगरी बैठकमा सहभागी अधिकांश वडा सभापति तथा नगर सदस्यहरुले आगामी निर्वाचनमा हेटौंडाको मेयर का साथै वडा तहमा उम्मेदवार टुङ्याउँदा जनताको माझमा भिजेका, जनतासँग नजिक रहेर काम गरेका तथा कांग्रेसमा क्रियाशील व्यक्तिलाई टिकट दिन पार्टीका शीर्षस्थ नेताहरूसंग आग्रह गरेका छन् ।

बैठकमा सहभागी अधिकांश इकाइ सभापति तथा सदस्यहरुले आ–आफ्नो वडामा यसपटक मेयर पदमा काँग्रेस पार्टीको तर्फबाट आनन्दराम पराजुली नै मेयरको उम्मेदवार हुनेमा आशावादी रहेको धारणा राखेका छन् । उनीहरुले जनताको काममा सदैव लागिरहने भएकोले पराजुलीलाई जिताउन सजिलो हुने र अन्य उम्मेदवार आए गाह्रो हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*