मेयर कप रेपिड बुद्धिचाल सुरु
हेटौंडा- नेपाल खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा हेटौंडामा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।हेटौंडा–२, पल्पसा सभागृहमा सुरु प्रतियोगिताको हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले उद्घाटन गरेका छन् । प्रतियोगितामा ६० जनाले सहभागिता जनाएका छन् । महासंघका अध्यक्ष सविन लामाको सभाध्यक्षता तथा नगर प्रमुख महतको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष तथा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, बुद्धिचाल संघका सचिव तथा खेलकुद महासंघ स्थायी कमिटी सदस्य धरम लामा, नगर खेलकुद विकास समिति अध्यक्ष चन्द्र शाही, एमाले मकवानपुरका उपसचिव सिता बिष्टलगायतको आतिथ्यता थियो ।प्रतियोगिताको हरेक स्पर्धामा शीर्ष तीन खेलाडीले नगदसहित पुरस्कार हात पार्नेछन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ५०, २५ र १५ हजार रुपियाँ पाउने आयोजकले जनाएको छ । उत्कृष्ट १५ र विभिन्न ७ विद्यामा खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष मोक्तानले जानकारी दिए ।