उद्योगको आधा उत्पादन घट्यो

मकवानपुरमा अघोषित लोडसेडिङ
साझाकुरा
२०७८ चैत्र १८, शुक्रबार ०८:५८

हेटौंडा- पछिल्लो एक साता यता देशभरिमा जस्तै हेटौंडा औद्योगिक क्षेत्रमा पनि अघोषितरुपमा लोडसेडिङ भइरहेको छ । लोडसेडिङका कारण उद्योग सञ्चालन गर्न नपाउँदा उद्योगहरुको उत्पादनमा आधा गिरावट आएको बताइएको छ ।दिनहुँ विद्युत् कटौती हुँदा नेपालकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रमा रहेका उद्योग सञ्चालनमा समस्या आएको छ । पूर्वजानकारी विना दैनिक नौ देखि १४ घण्टासम्म विद्युत् कटौती हुन थालेपछि उद्योग सञ्लचानमा नै समस्या सिर्जना भएको हो ।

विशेषगरी रातको समयमा हुने लोडसेडिङले औद्योगिक क्षेत्रका उद्योगहरुको उत्पादन ५० प्रतिशतमा झरेको छ । कोरोना महामारीमा थलिएर बल्लबल्ल उठेको उद्योगहरुलाई लोडसेडिङले विस्थापित नै हुने अवस्थामा पु¥याएको उद्योगीहरुको गुनासो छ । हेटौंडा औद्योगिक क्षेत्रमा एकसय १० वटा उद्योगहरु सञ्चालित छन् । तीमध्ये करिब ६० प्रतिशत उद्योगहरु रातिको समयमा सञ्चालन हुने गरेको हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्र कँडलले जानकारी दिए ।

गएको शनिबारदेखि लगातार विद्युत् प्राधिकरणले रातिको समयमा नौदेखि १४ घण्टासम्म विद्युत् कटौती गर्दा उद्योगहरुको उत्पादन ५० प्रशितले घटेको उनले बताए । प्रबन्धक कँडेलका अनुसार मंगलबार हेटौंडाको उद्योगहरुमा १४ घण्टासम्म लगातार विद्युत् कटौती गरिएको थियो ।‘विशेषगरी रातिको समयमा लोडसेडिङ हुने गरेकोले राति सञ्चालन हुने उद्योगहरु मारमा
परेका छन् । राति चल्ने साना उद्योगहरु त सञ्चालन नै हुन सकेका छैनन्’, उनले भने ।

रातिको समयमा दुग्ध र दानालगायतका खाद्यान्न उद्योगहरु सञ्चालन हुने गरेका छन् । लोडसेडिङ हुन थालेसँगै यी उद्योगहरु सञ्चालनमा समस्या सिर्जना भएको उनको भनाइ छ । उनका अनुसार केहि ठूला उद्योगहरुले डिजेलमार्फत् उद्योग चलाइरहेको भएपनि यसको लागत महंगो हुने भएकाले साना उद्योग सञ्चालन हुन सकेका छैनन् ।उद्योगहरु उत्पादनको मुख्य सिजन नै चैतदेखि सुरु हुने भएकाले थप समस्या भएको उनको भनाइ छ । उनले विद्युत् कटौतीले सरकारी प्रयोगशाला सञ्चालन नै धरासायी अवस्थामा पुगेको बताए ।

‘नेपाल सरकारले सञ्चालन गरेको खाद्य प्रविधि तथा गुणस्तर प्रयोगशालालाई निरन्तर बत्ती चाहिन्छ । तर, बत्ती कटौती हुँदा यस्ता सरकारी प्रयोगशाला तथा कार्यालय नै सञ्चालनमा समस्या भएको छ’, उनले भने ।कँडेलले लाइन काट्नुअघि प्राधिकरणले खबर नगर्दा उद्योगहरु अन्यौलमा परेको बताए । एक हप्तामा नै लोडसेडिङले हेटौंडाको औद्योगिक क्षेत्रमा ठूलो क्षति पु¥याएको अनुमान गरिएको भएपनि हालसम्म यकिन तथ्यांक भने आइनसकेको उनले बताए । उनले उद्योगहरुको उत्पादनमा कमी आउनासाथ त्यसको असर सरकारको राजश्वमा समेत प्रत्यक्षरुपमा पर्ने बताए ।

लोडसेडिङले गर्दा उद्योग सञ्चालन गर्न समस्या भएको उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले बताए । दैनिक नौदेखि १४ घण्टासम्म लोडसेडिङ हुँदा हेटौंडाका कतिपय उद्योगहरु बन्द नै गर्नुपर्ने अवस्थामा पुग्न लागेको उनको भनाइ छ । ‘१४ घण्टासम्म लोडसेडिङ भएपछि १०÷१२ घण्टा उद्योग चलाएर हामी खर्च धान्न सक्दैनौं ।यस्तै भइराख्यो भने कर्मचारी कटौती गर्नुपर्ने हुन्छ’, उनले भने । प्याकुरेलले उत्पादन घटिरहेको अवस्थामा उद्योगहरुले अहिलेको खर्चलाई धान्न नसक्ने हुँदा कर्मचारी खर्च कटौती गर्न केहि कर्मचारीलाई समेत हटाउनुपर्ने बाध्यात्मक अवस्था आउने उनले बताए । उनका अनुसार हाल हेटौंडा औद्योगिक क्षेत्रमा मात्रै ५५ सय र मकवानपुरभरिका उद्योगमा करिब ११ हजारले रोजगारी पाएका छन् ।

यसअघि कोरोना महामारीमा पनि खर्च धान्न नसक्ने भएपछि उद्योगहरुले कर्मचारी घटाउँदा धेरैको रोजगारी गुमेको थियो । फेरि लोडसेडिङले त्यँहि अवस्था दोहो¥याउने भएको छ ।कोरोना महामारीबाट थलिएका उद्योगहरू तंग्रिने कोशिस गर्दै गर्दा समस्यामाथि समस्या थपिएको उनले बताए । महंगो डिजेल र जेनेरेटर किनेर उद्योग सञ्चालन गर्नसक्ने अवस्थामा उद्योगहरु नरहेको उनको भनाइ छ ।प्याकुरेलले नेपालको बलियो अर्थतन्त्रको रुपमा रहेको उद्योगप्रति सरकार जवाफदेही नभएको आरोप लगाए । उनले अन्य क्षेत्रको विद्युत् कटौती नगरी उद्योगको मात्रै विद्युत् कटौती गर्ने नीति प्राधिकरणले लिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*