आफ्नो पार्टीलाई साथ दिन कमल थापाको अपिल

साझाकुरा
२०७८ चैत्र १८, शुक्रबार ०९:०५

हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएपछि पुरानै राप्रपा नेपाललाई ब्यूँताएका कमल थापाले आफूलाई साथ दिन मकवानपुरबासीलाई अपिल गरेका छन् ।हेटौंडामा बिहीवार राप्रपा नेपाल मकवानपुरको घोषणासभालाई सम्बोधन गर्दै थापाले आफ्नो पार्टीलाई साथ दिन अपिल गरेका हुन् । आफ्नो गृह जिल्ला भएपनि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट पराजित थापाले चुनाव केन्द्रित गतिविधि अगाडि बढाएका हुन् ।

आमनिर्वाचनमा शक्ति क्षयीकरणको चपेटामा रहेका थापाले आफूलाई अप्ठेरो बेलामा साथ दिएको मकवानपुरले पुनः साथ दिनेमा विश्वस्त रहेको बताएका छन् । आफूले कुनै कमजोरी काम नगरेको दाबी गर्दै थापाले आफ्नो माग पूरा नभएपछि पार्टी छोड्न बाध्य भएको बताएका थिए ।उनले आफूले राजा नछोडेको र राजाले आफूहरुलाई छोडेको थापाको भनाइ छ । उनले राप्रपा मकवानपुरमा रहेकाहरुलाई पनि आफ्नो पार्टीमा आउन अनुनयविनय गरे । राप्रपा मकवानपुरको अध्यक्ष, उपाध्यक्षसहित जिल्ला सदस्य, क्षेत्रीय अध्यक्षहरु, पालिकास्तरीय कमिटीका अध्यक्ष र जनवर्गीय संगठनका अध्यक्षसहित सदस्यहरु पार्टी परित्याग गर्दै थापाको पार्टीमा समाहित भएका थिए ।

तत्कालीन राप्रपा जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटालाई नेतृत्व प्रदान गर्दै थापाले मकवानपुरमा पार्टी कमिटी बिस्तार गर्ने योजना अघि सारेका छन् ।बिहीवार हेटौंडामा आयोजित घोषणासभामा सापकोटाले अध्यक्षको नेतृत्व सम्हालेका हुन् । राप्रपा नेपालका अध्यक्ष थापाले सर्वसम्मत चयन भएका सापकोटालाई पार्टीको माईन्यूट र झण्डा हस्तान्त्रण गरेका थिए । हाल अध्यक्षमा सापकोटा चुनिए पनि बाँकी पदाधिकारी र सदस्यहरु पछि चयन गरिने राप्रपा नेपालका युवा नेता भृगु कार्कीले बताए ।

राप्रपा नेपालको केन्द्रीय सदस्यमा मकवानपुरबाट बालकृष्ण कार्की र अम्बिका खतिवडा बिहीवार चयन भएका छन् ।अध्यक्ष थापाले कार्की र खतिवडालाई घोषणासभाको अवसरमा केन्द्रीय सदस्यको जिम्मेवारी पत्र प्रदान गरेका थिए । कार्की र खतिवडा पनि केही दिनअघि मात्रै राप्रपा परित्याग गर्दै राप्रपा नेपालमा समाहित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*