बाराको भलिबल प्रतियोगिताको उपाधि मकवानपुरलाई
हेटौंडा- बाराको पाँचौं नक आउट भलिबल प्रतियोगिताको उपाधि मकवानपुरको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले जितेको छ ।प्रतिष्ठानले बुधबार बाराको कोहल्वीमा सम्पन्न फाइनल खेलमा स्थानीय समाज सेवा युवा क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट १७–२५ ले गुमाएको प्रतिष्ठानले दोस्रो सेटमा प्रतिस्पर्धात्मक नतिजा निकाल्ने क्रममा २८–२६ को अंक रह्यो ।
तेस्रो सेट २५–१९ ले जित्दै २–१ ले खेल आफ्नो पक्षमा पारे पनि चौथो सेट प्रतिस्पर्धात्मक २६–२८ ले हार्न पुग्यो । २–२ को बराबरीमा पुगेपछि अन्तिम सेट प्रतिष्ठानले १५–९ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो । उपाधिसँगै केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले एकलाख रुपियाँ नगद हात पारेको छ भने दोस्रो हुने समाज सेवा युवा क्लबले ५० हजार रुपियाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रतिष्ठानका अशोक श्रेष्ठ उत्कृष्ट खेलाडी, विवश आले उत्कृष्ट सेटर घोषित हुँदा समाज सेवा युवा क्लबका सुरेन्द्र गुराउ उत्कृष्ट स्पाइकर घोषित भए । प्रतियोगितामा ९ टिमको सहभागिता थियो । फाइनलमा टिमलाई हौसला प्रदान गर्न प्रतिष्ठानका उपाध्यक्ष राजन दाहाल खुसराज, महासचिव बसन्त सिटौला र कोषाध्यक्ष छवि सुवेदी कोहल्वी पुगेका थिए । स्थानीय जनजागृति महिला तथा पुरुष उत्थान केन्द्रको आयोजना तथा कोहल्वी नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको थियो ।