हेटौंडाको मेयरमा ९, उपमेयरमा ७ जनाको दावी

आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न एमालेलाई सकस
साझाकुरा
२०७८ चैत्र २८, सोमबार ११:३५

हेटौंडा- नेकपा एमाले मकवानपुरलाई हेटौंडा उपमहानगरपालिकाको उम्मेदवारको नाम टुंग्याउन सकस परेको छ ।उपमहानगरको मेयर र उपमेयरमा आकांक्षी धेरै हुँदा एमालेलाई उम्मेदवारको नाम टुंग्याउन सकस परेको हो । नेकपा एमाले मकवानपुरका हेभि वेटका नेताहरु नै हेटौडाको मेयर बन्न ईच्छुक रहँदा हेटौंडाको उम्मेदवार तय गर्ने विषय एमालेलाई पेचिलो बन्दै गएको छ । सर्वसम्मत रुपमा हेटौंडाको मेयर÷उपमेयरको नाम टुंग्याउन आईतबार बसेको बैठक असफल भएको छ ।

सर्वसम्मत रुपमा उम्मेदवार बनाउन सहमती जुटाउन नसकेपछि एमालेले प्रमुख र उप्रमुखमा १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । एमाले हेटौंडा नगर कमिटीको बैठकले सर्वसम्मत् निर्णय गर्न नसकेपछि मेयरमा ९ जना र उपमेयरमा ७ जनाको नाम सिफारिस गरेको हो ।बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्र्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ । सर्वसम्मत् उम्मेदवार छनोटका लागि भएको प्रयास असफल भएसँगै आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिएको हो । उक्त सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीमा पुग्नेछ । एमालेबाट पूर्व संविधानसभा सदस्यदेखि जिल्ला सचिवालय समितिका सदस्य गरी सात जनाले मेयरमा आकांक्षा व्यक्त गर्दा सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंग्याउन मुस्किल परेको हो । २०७० सालमा संविधानसभाको सदस्यमा निर्वाचित अनन्त पौडेलदेखि एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर रानासम्म हेटौंडा उपमहानगरपालिकाको मेयर बन्ने दौडमा रहेका छन् ।

मकवानपुरमा एमालेका ‘हेभि वेट’ नेताको रुपमा डोरमणी पौडेल, संविधानसभा सदस्य अनन्त पौडेल,केन्दीय सदस्य राना रहेका छन् । तर डोरमणी बाहेक अन्य दुईजना ‘हेभि वेट’ नेता तथा एमाले मकवानपुरको जिल्ला अध्यक्ष नै हेटौंडाको मेयर बन्ने दौडमा रहदा जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गर्नै पनि एमालेलाई सकस परेको एमालेको एक नेता बताउँछन् ।पछिल्लो समय मकवानपुरको राजनीतिमा संविधानसभा सदस्य पौडेल र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले एमालेका लागि अभिभावकीय र निर्णायक भूमिका खेल्दै आएका छन् । मेयर पदका उम्मेदवार चयनमा पनि उनीहरूको भूमिका निर्णायक हुने बताइएको छ । संविधानसभा सदस्य पौडेलले मेयर पदमा आकांक्षा व्यक्त गरेपछि उम्मेदवार छनौटमा समस्या देखिएको एमाले नेताहरू बताउँछन् । जिसस मकवानपुरका प्रमुख खुलाल पूर्वमुख्यमन्त्री पौडेलको पहिलो रोजाईका पात्र हुन् ।

पूर्वमुख्यमन्त्री पौडेल निकटकै केन्द्रीय सदस्य रानाले पनि मेयर बन्ने आकांक्षा देखाएपछि भने एमालेभित्र समस्या देखिएको छ ।अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउँदै हेटौँडाको मेयर बनेका महत आफ्ना अधुरा काम पुरा गर्न भन्दै थप एक कार्यकाल आफूलाई अवसर दिनुपर्ने तर्क गर्दै आएका छन् ।यी हुन् सम्भावित वडाध्यक्षका उम्मेदवारहरुस्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीले १९ वटै वडाका लागि वडाध्यक्षसहित सदस्यहरूको नाम टुङ्ग्याएर जिल्ला कमिटीमा सिफारिस गरेको छ । एमाले हेटौँडा उपमहानगरपालिकाको सबै वडा कमिटीको बैठकले वडाध्यक्ष र सदस्य पदका उम्मेदवारको नाम सिफारिस गरेको हो ।

जसअनुसार हेटौंडा उपमहानगरपालिका १–को वडाध्यक्षमा उत्तम प्रसाद पौडेल, २ नम्वरको वडाध्यक्षमा हरिबहादुर राउत, ३ नम्वररको वडाध्यक्षमा रामकुमार पुडासैनी÷परेशमान विडारी÷कल्पना लामा, ४ नम्वरको वडाध्यक्षमा नवीन सिग्देल, ५ नम्वरको वडाध्यक्षमा सुशील घिमिरे ,६ नम्वरको वडाध्यक्षमा विश्वराज राई, ७ नम्वरको वडाध्यक्षमा राजन थापा र ८ नम्वरको वडाध्यक्षमा बोलबहादुर कार्की÷यशोदा उप्रेती÷रमेशकुमार पौडेलको नाम सिफारिस गरिएको छ ।

त्यस्तैगरि ९ नम्वरको वडाध्यक्षमा नरेन्द्र भण्डारी÷ लक्ष्मणप्रसाद भण्डारी÷गोमा शाह, १० नम्वरको वडाध्यक्षमा धर्मराज बस्नेत÷साधना श्रेष्ठ÷फूर्वादोर्जे लामा÷किताप सिं लामा, ११ नम्वरको वडाध्यक्षमा जुना दाहाल÷रामचन्द्र न्यौपाने÷दीपक शिवाकोटी, १२ नम्वरको वडाध्यक्षमा राजेश नगरकोटी, १३ नम्वरको वडाध्यक्षमा पेम्बा लामा, १४ नम्वरको वडाध्यक्षमा दीपक खड्का, १५ नम्वरको वडाध्यक्षमा सुनिल मोक्तान, १६ नम्वरको वडाध्यक्षमा बसन्त प्रसाद लामिछाने, १७ नम्वरको वडाध्यक्षमा भैरवबहादुर राई÷लक्ष्मण खुलाल, १८ नम्वरको वडाध्यक्षमा अनिल बानियाँ र १९ नम्वरको वडाध्यक्षमा नरनाथ सुवेदी÷इन्दिरा तामाङ÷रत्नबहादुर ब्लोनको नाम सिफारिस गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*