जनताले ठिक पार्टी र नेता चिन्न नसक्दा दुःख पाएः लिङ्देन

साझाकुरा
२०७८ चैत्र २८, सोमबार ११:५५

हेटौंडा-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले ठिक पार्टी र नेता चुन्न नसक्दा दुःख पाएको बताएका छन् ।हेटौंडा–४ हुप्रचौरमा सोमबार भएको पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशले कांग्रेस, एमाले र माओवादीको विकल्प खोजेको बताएका छन् । ‘जनताले ठिक पार्टी र नेता चुन्न नसकेर दुःख पाएका छन् । देशमा राजनीति व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै छ ।’ उनले भने, अहिलेका पार्टीको विकल्प देशले खोजिरहेको छ ।,’ लिङ्देनले देश टाट पल्टिनबाट जोगाउन सरकारसँग कुनै योजना नभएको बताए । कांग्रेस, एमाले माओवादीले देश टाट पल्टाएको र वैदेशिक ऋण अनुत्पादक क्षेत्रमा लगानी भएको उनको दावी छ ।

‘कति पटक ठुला दललाई जिताई दिएर देश बन्छ ?,’ लिङ्देनको प्रश्न छ । सम्बृदि र विकास केबल ठुला नेताहरूको परिवारलाई मात्रै भएको उनले आरोप लगाए । आगामी स्थानीय तह निर्वाचनमा राप्रपाले जित्ने सबै स्थानीय तहहरुमा १२ कक्षा सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने लिङ्देनको दावी गरेका छन् । मुलुक असफल राष्ट्रको बाटोमा गएको उनको भनाई छ । ‘नेपाललाई श्रीलंका बनाउन खोजियो । कांग्रेस एमाले माओवादीलाई असफल हुने छुट छ । मुलुक असफल बनाउने छुट छैन ।,’ उनले भने ।

१५ बर्ष पार्टी चलाउँदा केही गर्न नसक्नेले फेरि केही गर्लान् भन्ने आश नगर्न लिङ्देनले अपिल गरे । मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको उनको दावी छ । पार्टी प्रमुख वा प्रधानमन्त्री २ पटक नेतृत्व गर्दापनि केही गर्न नसक्नेलाई फेरि मौका दिन नहुने बताएका छन् । लिङ्देलले कम्युनिष्टहरुले राज परिवारबारे दुष्प्रचार गरेर आफू महान देखाउन खोजेको दावी गरेका छन् । कम्युनिष्टहरुले राजाले स्वीजरल्याण्डको बैंकमा अर्बौं रकम जम्मा गरेर राखेको र त्यो ल्याएपछि प्रत्येक जनताले चार विहाग जग्गा र सुन किन्न सक्छन् भनेर हल्ला फिँजाएको उनको दावी छ ।

‘राजा शासन गएको १५ बर्ष बितिसकेको छ, स्वीजरल्याण्डको बैंकमा कति रकम रैछ ? राजाको खुलासा हुन सकेको छ ?,’ लिङ्देनले प्रश्न गरे । राप्रपा नेपालकी केन्द्रीय सदस्य रेखा थापाले देश हाँकिरहेको दलहरुले मुलुकलाई खतरामा पारेको आरोप लगाएकी छन् । हुप्रचौरमा भएको पार्टीको आमसभालाई सम्बोधन गर्दै थापाले देश बचाउन राप्रपामा आफू लागेको भन्दै सबैलाई पार्टीमा आउन अपिलपनि गरेकी छन् । उनले राप्रपाको एजेण्डा राष्ट्र र धर्म बचाउने भएको बताइन् ।

राप्रपाले नेपाली जनताका लागि विकास र पूर्वाधारको जिम्मा लिने बताएकी छिन् । पार्टीले शिक्षा, स्वास्थ्य तथा जनताको आधारभूत आवश्यता पूरा गर्ने थापाले बताइन् । अहिलेका नेता खराब नभएको र जनताको रोजाई नै खराब भएको थापाको तर्क थियो ।आगामी स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन निर्वाचन मात्र नभएर सत्य र असत्यको लडाई भएको बताएकी छन् । ‘हामी बोलेर हैन गरेर देखाउँछौं । जनताको आवश्यकता समस्या के छ ? हामीले नजिकबाट नियालेका छौं । गम्भिर छौं ।,’ आफू राप्रपामा प्रवेश गरेपछि आमनेपाली दाजुभाइको मुहारमा खुसीको बहार देखिएको दाबी थापाले गरिन् । थापाले धेरै दिदीबहिनीहरु सपना विहीन भएको देखेको र राप्रपाले उनीहरुको सिप र शिक्षाको सुनिश्चितता गर्ने दाबी गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*