अनेरास्ववियुको एक हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी

साझाकुरा
२०७८ चैत्र २९, मंगलवार ११:३९

हेटौंडा-नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले एकहजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएको छ । सोमबार भएको जिल्लास्तरीय विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रमबाट अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलको नेतृत्वमा स्थानीय तह निर्वाचनलक्षित निर्वाचन परिचालन कमिटी निर्माण भएको हो । भेलामा भीमफेदी, मनहरी, मकवानपुरगढी गाउँपालिका तथा हेटौंडाकै विभिन्न क्याम्पसहरुबाट सयौंको संख्यामा विद्यार्थीहरु सहभागी थिए । विद्यार्थीहरुको ¥यालीसहित हेटौंडा बजार परिक्रमा गर्दै प्रशिक्षण कार्यक्रम भएको हो । विद्यार्थीहरुलाई आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदबारहरुलाई बिजयी गराउन आ–आफ्नो क्षेत्रबाट सक्रियरुपमा लाग्न निर्देशन दिइएको अनेरास्ववियु मकवानपुरका सचिव पुष्कर तिमल्सिनाले बताए ।

‘मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौं ।’ भन्ने नारासहित अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले एक हजार एक सदस्यीय निर्वाचन  परिचालन कमिटी गठन गरिएको घोषणा गरेका थिए । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । पूर्वमुख्यमन्त्री पौडेलेले अनेरास्ववियु र नेकपा एमालेको चुनाव चिन्ह सूर्य अंकित झण्डा अनेरास्ववियु मकवानपुर अध्यक्ष पौडेललाई प्रदान गर्दै निर्वाचन परिचालन कमिटीको उद्घाटन गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री पौडेलले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारको बिजय सुनिश्चित भएको दाबी गरेका छन् । पाँच वटा दलले गठबन्धन गरेपनि एमाले एक्लैले धेरै स्थानमा चुनाव जित्ने उनको दाबी छ ।

ज्येष्ठ नागरिक र बालबालिकाको अधिकार र हकहितका नेकपा एमालेले काम गरिरहेको भन्दै उनले एमाले जसरी अन्य पार्टी काम गर्न नसक्ने बताए । ‘नेकपा एमालेको सरकार भएपछि मात्रै जनताले सरकार भएको अनुभूति गरेका हुन्छन् । त्यसैले निर्वाचनमा एमालेले नै जित्ने हो । जनताले हामीलाई जिताउँछन्’, पौडेलले भने । मुलुकको परिवर्तन, विकास, समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा पुग्न एमाले रोज्नुको विकल्प नभएको उनको भनाइ छ । पौडेलले आफ्नो घर, समाजमा एमालेलाई जिताउन सक्रिय भूमिका खेल्न विद्यार्थीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश उपसचिव महेश बर्तौला, प्रदेश सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला सचिव नविन सिग्देल, जिल्ला सचिवालय सदस्यहरु ईश्वर ढुंगाना, सुनिल मोक्तानलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*