हेटौंडाको मेयरमा एमालेबाट तीन जना सिफारिस

साझाकुरा
२०७८ चैत्र ३०, बुधबार १३:०१

हेटौंडा-नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडाको मेयरमा तीन जनाको नाम सिफारिस गरेको छ ।मंगलबार एमाले नगर कमिटीको बैठकले मेयरका आकांक्षी ९ जनामध्येबाट सहमतिका आधारमा ३ जनाको नाम टुंगो लगाएको थियो । तीन जनाबीच सर्वसम्मतीको प्रयास गरेपनि अन्तत नगर कमिटीले मेयरका लागि संविधानसभा सदस्य अनन्त पौडेल, वर्तमान मेयर हरिबहादुर महत र महिला नेतृ गणेशकुमारी श्रेष्ठ प्रधानको नाम पार्टी जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

अब तीन जनामध्ये एक जनालाई मेयरका लागि एमालेको केन्द्रीय कमिटीले छनौट गर्नेछ । त्यसअघि जिल्ला कमिटीले आज बुधबार प्रदेश कमिटीमा सिफारिस गर्ने एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए । प्रदेश कमिटीले पनि उक्त नाम केन्द्रीय कमिटीमा पठाउने छ ।एमाले नेताहरुका अनुसार सिफारिस भएका तीन जनामध्ये मेयरको टिकट पाउनेमा बढी सम्भावना बोकेका महत र पौडेल हुन् ।

एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुखसमेत रहेका हेटौंडा–४, निवासी पौडेल २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । करिब ३ अर्ब बजेट रहेको उपमहानगरको नेतृत्व सम्हाल्न पौडेलले विगत एक वर्षदेखि पार्टीभित्र लबिङ बढाएका थिए । पुनः मेयरमा दोहोरिन चाहेका हेटौंडा–५, घर भएका महतले गत निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनका उम्मेदबारलाई हराउँदै बिजयी बनेका थिए । आफ्नो कार्यकालमा नगरभित्र भएको विकासकै आधारमा नगरबासीलाई आफूलाई जिताउनेमा उनी विश्वस्त छन् ।

तत्कालीन जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षसमेत भएका महत ०५४ मा भएको निर्वाचनमा हेटौंडाको उपमेयर बनेका थिए । गोर्खामा जन्मिएकी गणेश कुमारीले २०३५ सालदेखि चितवनबाट विद्यार्थी राजनीति सुरु गरेकी थिइन् । २०५४ सालमा वडा सदस्यसमेत भएकी श्रेष्ठले पार्टीले विश्वास गरेर मेयरमा अबसर दिए पाँच वर्ष स्थानीय सरकार चलाउन सक्षम रहेको बताइन् । उनले आफू पार्टीमा लामो समयदेखि काम गरेको अनुभव सुनाउँदै पहिलो महिला मेयर बन्नेमा ढुक्क रहेको सुनाएकी छन् ।

यसैगरी, नगर कमिटी बैठकले उपमेयरका लागि तीन जनाको नाम जिल्लामा सिफारिस गरेको छ । ७ जना आकांक्षीमध्येबाट महिला अधिकारकर्मीसमेत रहेकी आरती पाठक, वर्तमान हेटौंडाको न्यायिक समिति सदस्य रहेका ईन्द्र नेपाल र सुमित्रा काफ्ले छन् ।यसअघि एमालेबाट मेयर बन्ने चाहना बोकेका पार्टी केन्द्रीय सदस्य तथा पार्टी मकवानपुर इञ्चार्ज रामेश्वर राना, वर्तमान मेयर महत संविधानसभा सदस्य पौडेल, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, पार्टी जिल्ला सस्य मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन, गणेशकुमारी श्रेष्ठले दाबी गरेका थिए । गत निर्वाचनमा गठबन्धनलाई हराएको कारणपनि आगामी निर्वाचनमा जित्ने सम्भावना बढी देखिएको आंकलनसहित मेयर र उपमेयरमा एमालेभित्र धेरै आंकाक्षी बढेको देखिन्छ ।

जिल्लाका १० स्थानीय तहमध्ये एमालेको सबैभन्दा धेरै मतदाता भएको पालिका हेटौंडा उपमहानगरपालिका हो । हेटौंडाको १९ वटा वडामध्ये १२ वटा वडामा एमालेले जितेको थियो । बाँकी ५ वटा कांग्रेस र २ वटा नेकपा माओवादी केन्द्रले जितेको थियो ।माओवादीले जितेकोमध्ये हेटौंडा–१४ का, वडाध्यक्ष एमालेमै प्रवेश गरिसकेका छन् । २०४६ मा बहुदल स्थापनापछि ०४९ र ०५४ मा भएको निर्वाचनमा हेटौंडामा एमाले बिजयी बनेको थियो । २० वर्षपछि २०७४ मा भएको निर्वाचनमा पनि एमालेका मेयर र उपमेयर नै निर्वाचित भए । एमाले जिल्लाकै ठूलो पार्टी पनि हो । गत निर्वाचनमा एमालेले हेटौंडासहित ६ वटा पालिकामा अध्यक्ष र ८ वटामा उपाध्यक्ष जितेको थियो ।

हाल एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)मा एमालेबाट निर्वाचित दुई पालिका अध्यक्ष र दुई उपाध्यक्ष गएका छन् । पार्टी विभाजनपछि पनि एमाले बहुमतमै छ । हेटौंडाको मयरका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीबीचको पाँच दलीय गठबन्धनले पनि उम्मेदवार छनौट गर्न सकेको छैन ।मेयरमा गठबन्धनका कांग्रेस र एकीकृत समाजवादीले दाबी गरेका छन् । दुबै पार्टीबीच गठबन्धनभित्र हेटौंडाको मेयरका लागि रस्साकस्सी चलेको छ । कांग्रेसभित्रै मेयरका लागि प्रतिस्पर्धा चलेकाले भागबण्डामा हेटौंडा एकीकृत समाजवादीले पाउन सक्ने पनि राजनीतिक वृतमा चर्चा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*