उम्मेदवार टुंग्याउन प्रदेश कमिटीलाई सिफारिस गर्दै एमाले

साझाकुरा
२०७९ बैशाख १, बिहीबार १३:१७

हेटौंडा- नेकपा एमालेले मकवानपुरले स्थानीय तहहरुको उम्मेदबार टुंगो लगाउन आज प्रदेश कमिटीलाई सिफारिस गर्ने भएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि एमालेको मकवानपुर जिल्ला कमिटीले उम्मेदबार टुंग्याउन प्रदेश कमिटीलाई सिफारिस गर्ने भएको हो । जिल्लामा रहेका १० पालिका र एकसय दुई वडाबाट सिफारिस भएर आएका उम्मेदबारहरुलाई जिल्लामा सर्वसम्मत गराउने प्रयास गर्ने र प्रदेश कमिटीलाई उम्मेदबार टुंग्याउन सिफारिस गर्ने एमालेका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बुधबार बसेको एमाले मकवानपुरको तेस्रो पूर्ण बैठकले स्थानीयस्तरबाट सिफारिस भएर आएको उम्मेदबारहरुको नामलाई स्वीकृत गरेको छ । बैठकले सबै पालिकाबाट आएको उम्मेदबारहरुको नाम संकलन गर्ने, प्रदेश र केन्द्रमा सिफारिस गर्ने तथा गाउँपालिकाहरु र नगरपालिकाको वडाका उम्मेदबारहरुको सर्वसम्मत उम्मेदबारहरुलाई स्वीकृत गर्ने तथा सिफारिस भएकाहरुलाई छनौट गर्ने जिम्मा पार्टीको जिल्ला इन्चार्ज, सहइन्चार्ज, जिल्ला पदाधिकारी हरुलाई दिइएको बताए ।

यस्तै, बैठकले अध्यक्ष श्रेष्ठको संयोजकत्वमा जिल्लाभर दुईहजार पाँचसय एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा लाल बहादुर थापा, सचिवमा नवीन सिग्देल तथा उपसचिवमा हिदम लामा र सीता बिष्ट छन् ।निर्वाचन परिचालन कमिटीमा एमाले मकवानपुर जिल्ला सचिवालय सदस्यहरु, पालिका इन्चार्जहरु तथा २२ वटा जनवर्गीय संगठनबाट गरी ५५ सदस्यीय सचिवालय गठन गरिएको छ । बैठकले निर्वाचनको आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्धतासमेत जनाएको अध्यक्ष श्रेष्ठले बताए । यस्तै निर्वाचनलाई विश्वसनीय र धाँधलीरहित बनाउनका लागि निर्वाचनमा सहभागी हुने जिल्लाका सबै पार्टीहरुलाई ध्यानाकर्षण गराउने तथा निर्वाचनमा सरकारी शक्ति, स्रोत र साधनको प्रयोगमा प्रतिबाद गर्ने निर्णय भएको उनको भनाइ छ ।

एमालेले जिल्लामा रहेका एमालेका नौ हजार पाँचसय संगठित सदस्यलाई निर्वाचन अवधिसम्म सकृय भई एमालेका उम्मेदबारहरुलाई जिताउन घरदैलो कार्यक्रम गर्न निर्देशन दिने निर्णय भएको छ । जिल्ला सदस्य रहेका उत्तम शर्मा न्यौपानेलाई संगठन र पार्टीको हित विपरित कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।बैठकले बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेटौंडा अस्पतालबाट अलग गरी अन्त सार्ने नियतले ल्याइएको अध्यादेशबिरुद्व खेद प्रकट गर्ने तथा उक्त कार्यप्रति भत्र्सना जनाउने, मकवानपुर जिल्लाबासीहरुको हितविपरित गरिएको कुटनैतिक चालको भण्डाफोर गर्ने तथा प्रतिष्ठान जुन उद्देश्यले मकवानपुरमा स्थापना गरिएको छ सोको परिपूर्ति गर्न पार्टीको तर्फबाट जस्तोसुकै कदम चाल्न पछि नपर्ने निर्णय भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*