गठबन्धनमा मिलेन भागबण्डा, सहमति नभए आजै सिफारिस

साझाकुरा
२०७९ बैशाख ४, आईतवार ०९:००

हेटौंडा- मकवानपुरको १० पालिकामा गठबन्धनलाई भागबण्डा मिलाउन सकस परेको छ । एमालेका उम्मेदवार घरदैलोमा हिँडिसकेको अवस्थामा गठबन्धनलाई भने उम्मेदवार छनौटमै हम्मेहम्मे परेको हो आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धनका दल भागबण्डा मिलाउन लामो समयदेखि नियमित बैठकमा बसेका छन् । भागबण्डा मिलाउन गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीका जिल्ला नेतृत्व सहमतिको प्रयासका लागि दैनिक छलफलमा जुट्दै आएका छन् ।

तर, गठबन्धनभित्रका दलको आ–आफ्नो दावीका कारण सहमति हुन नसकेको जनाइएको छ । गत निर्वाचनमा जितेका गाउँपालिका सम्बन्धित दलले पाउने सहमति भएपनि थप ३ वटा गाउँपालिका र वडामा भागबण्डा नमिलेको हो ।गत निर्वाचनमा कांग्रेसले बकैया र राक्सिराङ गाउँपालिका, माओवादीले थाहा नगरपालिका र बागमती गाउँपालिका जितेको थियो । यसैगरी एमालेबाट निर्वाचन लडेर विजयी भएका कैलाश र इन्द्रसरोवर गाउँपालिका अध्यक्ष पार्टी विभाजनसँगै एकीकृत समाजवादीमा समाहित भएसँगै तीन दलले दुई–दुई वटा पालिका पाउने भएका छन् । तर, एमालेले जितेको मनहरी, मकवानपुरगढी र भीमफेदीमा तीन दलबीच सहमति जुट्न नसकेको एकीकृत समाजवादी निकट स्रोतले साझाकुरालाई जानकारी दिएको छ ।

मनहरीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले दावी नछोडेको स्रोतले जानकारी दियो । भीमफेदीमा कांग्रेस र माओवादीले दावी गरिरहेको छ । मकवानपुरगढीमा पनि कांग्रेस र माओवादीले दावी गरिरहेको स्रोतले जनाएको छ । ‘गत निर्वाचनमै जितेका पालिकाको हलमा सोही पार्टीले पाउने सहमति भएर कुरा टुंगिसकेको छ । तर, मनहरी, भीमफेदी र मकवानपुरगढीमा कुरा मिलेन्’, स्रोतले भन्यो । गठबन्धनबीच आज आइतबार अन्तिम प्रयास स्वरुप सहमतिका लागि छलफलमा बसिने जनाइएको छ । सहमति नभए तीन पालिकाको हकमा प्रदेश गठबन्धनलाई सिफारिस गरिने स्रोतले जानकारी दियो।
हेटौंडा उपमहानगरपालिकाको हकमा केन्द्रीय गठबन्धन संयन्त्रले टुंग्याउने भएपनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीले दावी गरेको छ । कांग्रेसबाट मेयरको आकांक्षीमा आनन्दराम पराजुली र प्रभात दहाल, माओवादीबाट संविधानसभा सदस्य प्रल्हाद लामिछाने र एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष श्रीधर पोख्रेल आकांक्षी छन् ।

यसैगरी, गठबन्धनभित्र वडाको हकमा पनि सहमति जुट्न सकेको छैन । जिल्लास्थित १० पालिकामा गरेर एकसय दुईवटा वडामध्ये कांग्रेसले ७० वटा, माओवादीले ४६ वटा र एकीकृत समाजवादीले ३० वटा दाबी गरेका छन् । जनता समाजवादीले पनि नगरको वडामा दावी गरेको छ ।माओवादीले ४६ वटै वडा चाहिने दाबी नछोडेपछि सहमति जुट्न नसकेको एक नेताले जानकारी दिए । माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिनले आवश्यकताका आधारमा माओवादीले ४६ वटा वडा मागेको बताए । केन्द्रीय गठबन्धनको निर्णय अनुसार नै माओवादीले दावी गरेको उनको भनाइ छ ।
सबैको आ–आफ्नै दाबी रहेको र केही कुरा नमिले पनि आज आइतबार बेलुकासम्म जिल्ला गठबन्धनले प्रदेशमा सिफारिस गरिसक्ने पाख्रिनले जानकारी दिए । ‘केही कुरा मिलेका छैनन् । त्यो हामी फेरि बैठक बसेर मिलाउँछौं । नमिलेपनि प्रदेशमा सिफारिस गर्छौ । उतैबाट टुंगिएर आउँछ’, पाख्रिनले भने ।

मकवानपुरमा गठबन्धनका कांग्रेस, माओवादी र एकीकृत समाजवादीले मात्रै पालिकाको प्रमुख र उपप्रमुखमा दावी गरेको छ भने जनमोर्चा र जनता समाजवादीले वडा अध्यक्ष र सदस्य मागेको छ । गठबन्धनको ठूलो दल कांग्रेसले बहुमत स्थानीय तह र वडा लिने अडान कायमै राखेको छ । निर्वाचनको मिति नजिकिएसँगै आ–आफ्नो पार्टीका उम्मेदवार टुंगो लगाउन नसक्दा गठबन्धनलाई प्राविधिक असर पुग्ने निश्चित छ ।कांग्रेसले हेटौंडा उपमहानगरसहित, राक्सिराङ, बकैया, मवानपुरगढी, कैलाश र मनहरी गाउँपालिकामा दावी गरेको छ । २०७४ को निर्वाचनमा कांग्रेसले राक्सिराङमा अध्यक्ष र उपाध्यक्ष, बकैयामा अध्यक्ष र थाहा नगरमा उपप्रमुख मात्रै जितेको थियो । कांग्रेस मकवानपुरमा एमालेपछिको दोस्रो ठूलो दल हो ।

नेकपा माओवादी केन्द्रले पाँच वटा गाउँपालिका, ४६ वटा वडा र जिल्ला समन्वय समितिको उपप्रमुखमा दावी गरेको छ । गत निर्वाचनमा माओवादीले थाहा नगरमा प्रमुख र बागमतीमा अध्यक्ष मात्रै जितेको थियो । गठबन्धनकै अर्को दल एकीकृत समाजवादीले हेटौंडा उपमहानगरसहित दुई गाउँपालिका र ३० वटा वडामा अध्यक्ष दावी गरेको छ । गठबन्धनलाई मकवानपुरमा एमाले हराउन सहज भने छैन् । मकवानपुरमा एमाले सबैभन्दा बलियो पार्टी हो । गत निर्वाचनमा एमालेले हेटौंडासहित ६ पालिका अध्यक्ष, ८ उपाध्यक्षसहित बहुमत वडा अध्यक्ष जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*