गठबन्धन भत्किने संकेत, कांग्रेसले खोज्यो ‘मित्रवत् प्रतिस्पर्धा’

साझाकुरा
२०७९ बैशाख ५, सोमबार ०९:०५

हेटौंडा-मकवानपुरमा सत्तासाझेदार दलहरुबीच स्थानीय तहको निर्वाचनमा भागबण्डा नमिलेपछि बैठक अनिश्चित बनेको छ । नेकपा माओवादी केन्द्रले पालिका र वडामा आफ्नो दाबीमा अडान कायम राख्दा गठबन्धनको संयोजन गरिरहेको नेपाली कांग्रेस मकवानपुरले असहमति जनाएको छ ।माओवादी केन्द्रको मागमा कांग्रेसले सहमति नजनाउँदा गठबन्धन नै भत्किन सक्नेतर्फ संकेत देखा परेको छ । कांग्रेस मकवानपुरका एक पदाधिकारीका अनुसार जिल्लामा अब कांग्रेसले गठबन्धनको बैठक नराख्ने गरी शनिबारको बैठक स्थगित भएको जानकारी दिएका छन् ।

पटक–पटक सहमतिका लागि बैठक बसेपनि कुनै प्रगति नभएका कारण कांग्रेसको आवश्यकतामा बैठक नबस्ने र सत्तासाझेदार अन्य दलको समन्वयमा भने बैठक बस्ने गरी शनिबार बैठक निश्कर्षबिहीन बनेको कांग्रेसका एक पदाधिकारीले साझाकुरालाई जानकारी दिए ।यसअघि गठबन्धनका कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबीच बैठक बस्दै आएको थियो । जिल्लामा कांग्रेसको संयोजकत्वमा जिल्ला गठबन्धन संयन्त्र पनि छ । ‘अब कांग्रेसको संयोजकत्वमा गठबन्धनको बैठक नबस्ने गरी शनिबार हामी उठेका हौं । सायद, अन्य दलको मागअनुसार बैठक बसेन भने जिल्लामा गठबन्धनको बैठक बस्दैन । माओवादी, एकीकृत समाजवादीलगायतका दलले बैठकको आवश्यकता ठाने भने बस्न सकिन्छ’, ती पदाधिकारीले भने । शनिबार प्रदेशको गठबन्धन संयन्त्रमा सिफारिस गर्नेबारे पनि कांग्रेस र माओवादीबीच सहमति हुन सकेको थिएन ।

कांग्रेसले विवाद भएका क्षेत्रका प्रदेश संयन्त्रलाई सिफारिस गर्ने प्रस्ताव राखेपनि माओवादी केन्द्रले भने जिल्लामै टुंग्याएरमात्रै सिफारिस गर्नुपर्ने अडान लिएको थियो । ‘जिल्लामै टुंग्याउन पनि कुरा मिलेन । प्रदेशबाट टुंग्याउने गरी सिफारिस गरौं भन्दा पनि माओवादी सहमतिमा आएन । त्यसैले कांग्रेसले अब बैठक नराख्ने निर्णयमा पुगेर शनिबारको बैठक सकिएको हो’, कांग्रेसका एक पदाधिकारीले भने ।
शनिबारको बैठकमा यसअघिका चरणबद्ध बैठकको प्रगति विवरण प्रस्तुत गर्नुपर्ने कांग्रेसको भनाइप्रति पनि माओवादी सहमति नभएको जनाइएको छ । ‘विवरणमा सबैको हस्ताक्षर हुनुपथ्र्यो । माओवादीले सहमति नजनाएपछि हामी उठेका हौं’, उनले भने ।

जिल्लामा गठबन्धनको अर्को बैठक भएन र बस्ने वातावरण नबनेमा ‘मित्रवत् प्रतिस्पर्धा’का रुपमा निर्वाचनमा भाग लिने कांग्रेसले आन्तरिक तयारी गरेको जनाइएको छ । यस सम्बन्धमा छलफल गर्न कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा काठमाडौं गएका छन् । कांग्रेस केन्द्रीय कमिटीले पनि सहमति नभएका नगरपालिका र गाउँपालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने नीति लिएकाले मकवानपुरमा कांग्रेसले अन्य दलसँग मित्रवत् प्रतिस्पर्धा गर्दै निर्वाचनमा जान सक्नेतर्फ ती पदाधिकारीले संकेत गरे । गठबन्धनका दलको आ–आफ्नै दाबीमा सहमति नजुटेपछि बैठक स्थगित भएको पाँच दलीय संयन्त्र मकवानपुरका अध्यक्ष तथा नेपाली कांग्रेसका सभापति बुद्ध लामाले बताए ।

‘बैठकमा सहमति नजिक–नजिक पुग्छौं, तर, फेरि कुरा मिल्दैन, गठबन्धनको दलहरुको प्रत्येक दिनजसो नयाँ–नयाँ सर्कुलरको कारण समस्या भएको जस्तो लागेको छ’, लामाले भने । हेटौंडा उपमहानगरको हकमा कांग्रेस र एकीकृत समाजवादीबीच कुरा मिलेको छैन । हेटौैंडाको सन्र्दभमा कांग्रेसले कुनैपनि हालतमा नेतृत्व नछाड्ने लामाले बताए ।हेटौंडामा नेपाली कांग्रेस गत निर्वाचनमा झिनो मतले पराजित भएको भन्दै लामाले कांग्रेसको उम्मेदबार नै मेयर हुने ठोकुवा गरे । हेटौंडामा एकीकृत समाजवादीले पनि दाबी गरिरहेको छ । नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिनले माओवादीले संगठनको आवश्यकताअनुसार पालिका र वडामा दाबी गरेको बताए । उनले कांग्रेसले भन्दैमा गठबन्धन नहुने ? भन्दै प्रतिप्रश्न गरे । एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले सहमति नजुटेपछि आज सोमबार पुनः बैठक बसेर टुंग्याउने बताए ।

उनले समस्या भएको ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुनसक्ने भन्दै जिल्लामा गठबन्धन भएरै निर्वाचनमा जानेमा ढुक्क रहन सुझाए । ‘समस्या भएको ठाउँमा कँही–कँही मित्रवत् प्रतिस्पर्धा होला । तर, गठबन्धन कुलै हालतमा हुन्छ’, पोख्रेलले भने ।गत निर्वाचनमा जितेका गाउँपालिका सम्बन्धित दलले पाउने सहमति भएपनि थप ३ वटा गाउँपालिका र वडामा भागबण्डा नमिलेको हो । गत निर्वाचनमा कांग्रेसले बकैया र राक्सिराङ गाउँपालिका, माओवादीले थाहा नगरपालिका र बागमती गाउँपालिका जितेको थियो ।

यसैगरी, एमालेबाट निर्वाचन लडेर बिजयी भएका कैलाश र इन्द्रसरोवर गाउँपालिका अध्यक्ष पार्टी विभाजनसँगै एकीकृत समाजवादीमा समाहित भएसँगै तीन दलले दुई–दुई वटा पालिका पाउने भएका छन् । तर, एमालेले जितेको हेटौंडा, मनहरी, मकवानपुरगढी र भीमफेदीमा तीन दलबीच सहमति जुट्न नसकेको जानाइएको छ ।यसैगरी, गठबन्धनभित्र वडाको हकमा पनि सहमति जुट्न सकेको छैन । जिल्लास्थित १० पालिकामा गरेर एकसय दुई वडामध्ये कांग्रेसले ७० वटा, माओवादीले ४६ वटा र एकीकृत समाजवादीले ३० वटा दाबी गरेका छन् । जनता समाजवादीले पनि नगरको वडा र उपमेयरमा दाबी गरेको छ । माओवादीले ४६ वटै वडा चाहिने दाबी नछोडेपछि सहमति जुट्न नसकेको स्रोतले बतायो ।

यसमा तपाइको मत

Your email address will not be published.


*