मेयर नपाए गठबन्धन छोड्ने कांग्रेस नगर समितिको निर्णय

साझाकुरा
२०७९ बैशाख ७, बुधबार १०:२०

हेटौंडा- नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा हेटौंडाको मेयर नपाए गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।मकवानपुरमा सत्ता साझेदार पाँच दलीय गठबन्धनबीच भागबण्डामा सहमति हुन नसकेको अवस्थामा कांग्रेस नगर समितिले नगरको हकमा मित्रवत् प्रतिस्पर्धा मात्रै गर्न सकिने निर्णय गरेको हो ।मकवानपुरमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनाएर आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा जाने सहमति बनेको छ । गठबन्धन गरेर अघि बढ्ने पाँच दलबीच सहमति भएपनि हालसम्म भागबण्डा मिल्न सकेको छैन । हेटौंडा उपमहानगरको नेतृत्व छोड्न नसक्ने बताइरहेको कांग्रेस सामू एकीकृत समाजवादीले पनि मेयरमा दाबी गरिरहेको छ ।

केन्द्रीय गठबन्धनको बैठकमै हेटौंडाको नेतृत्व गठबन्धन दलमध्ये एकीकृत समाजवादीलाई दिने चर्चा चलेका बेलामा मंगलबार बसेको नगर समिति बैठकले कांग्रेसले मेयर नपाए गठबन्धन नै नगर्ने चेतावनीसहितको निर्णय गरेको हो । नेपाली कांग्रेस नगर सभापति उत्सव इटेनीले मेयर नपाए गठबन्धनमा सहभागी नहुने निर्णय गरेको जानकारी दिए । इटेनीले मेयर र बहुमत वडा कांग्रेसले पाएमात्रै गठबन्धन गर्ने निर्णय गरेको जानकारी दिए । ‘हामी मेयर र बहुमत वडा पाएमात्रै गठबन्धन गर्छौ । गठबन्धनका अन्य दल हामीलाई नेतृत्व दिने गरी सहमतिमा आएमात्रै गठबन्धन अघि बढ्छ । नत्र हामी एक्लै निर्वाचन लड्छौँ’, इटेनीले भने ।

बैठकमा सहभागी हेटौंडा नगरका १९ वडाका सभापतिहरुले मेयर पद अरुलाई छोड्न नसक्ने भन्दै उम्मेदबारको हकमा सबै कुरा स्वीकार गर्न सकिनेमा जोड दिएको इटेनीले जानकारी दिए । नगरमा गठबन्धनका अन्य दलभन्दा कांग्रेसको प्रभाव बलियो रहेकाले मेयर नै लिनुपर्नेमा केन्द्रीय नेतृत्वको ध्यानाकर्षणसमेत गराएका छन् ।‘जनाधार बलियो भएको बेला अन्य दललाई मेयर पद जिम्मा दिनु हुँदैन भन्नेमा पार्टीभित्र एकमत छ । नेतृत्व तहले यसबारे तल्लो तहसँग समन्वय गरेर उपयुक्त निर्णय लिनुपर्नेमा बैठकको माग छ’, इटेनी भन्छन् । गत निर्वाचनको मत परिणाम अनुसार हेटौंडामा एमालेपछि दोस्रो ठूलो दल कांग्रेस हो ।

एमालेले हेटौंडाको मेयर र उपमेयरसहित १२ वटा वडा जित्दा कांग्रेसले पाँचवटा र माओवादीले दुईवटा वडा जितेको थियो । कांग्रेसका मेयर पदका उम्मेदवार आनन्दराम पराजुली एमालेका हरिबहादुर महतसँग पराजित भएका थिए । कांग्रेसबाट पुनः पराजुलीकै चर्चा छ ।सोमबार बसेको कांग्रेस नगर समितिको बैठकले पराजुलीसहित उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम क्षेत्रीय समिति र जिल्ला समितिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

हेटौंडाको मेयरलाई लिएर जिल्लास्तरीय गठबन्धनमा सहमति हुन सकेको छैन । मेयरमा एकीकृत समाजवादीले दाबी गरेपछि कांग्रेसको संयोजनमा बस्दै आएको जिल्लास्तरीय गठबन्धनको बैठक पनि अनिश्चित बन्दै आएको छ ।कांग्रेस नगर समितिको निर्णयपछि जिल्लामा खैलाबैला मच्चिएको छ । नगर समितिको निर्णयको सम्बन्धमा जिल्ला समितिका पदाधिकारीहरुले घुमाउरो तरिकाबाट असन्तुष्टि व्यक्त गरेका छन् । तर, कांग्रेस जिल्ला समितिले यसबारे कुनै औपचारिक धारणा दिइसकेको छैन ।

कांग्रेस जिल्ला सचिव ईश्वर पाठकले नगर समितिको निर्णयको सम्बन्धमा केही प्रतिक्रिया नदिने र आज बुधबार जिल्ला समितिको बैठकपछि औपचारिक धारणा आउने बताए । कांग्रेस जिल्ला सचिव भीमसेन महतले विज्ञप्ति जारी गर्दै पार्टीभित्रको गुट–उपगुटको नाममा कार्यकर्तालाई नैराश्यकता ल्याउने गतिविधिप्रति गम्भीर असहमति जनाएका छन् ।हेटौंडाको मेयर दाबी गरिरहेको एकीकृत समाजवादीकी जिल्ला उपाध्यक्ष तथा वर्तमान उपमेयर मिनाकुमारी लामाले गठबन्धन पद प्राप्तिका लागि मात्र नभई संविधानको रक्षाका लागि भएको कुरा बुझ्न आग्रह गरिन् ।

गठबन्धन गर्दा सबै पार्टीले केही गुमाउनु र केही पाउने कुरा हुँदा गठबन्धनको मूल मर्मलाई बुझ्नु पर्नेमा जोड दिइन् । कांग्रेस वा एकीकृत समाजवादीले पार्टीको निर्णय मानेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘संविधान जोगाउन र सरकार बनाउन कांग्रेसलाई हामीले सहयोग गरेका हौं । निर्वाचनमा त्यो सहयोगको मूल्याड्ढन हुनुपर्छ ।’

कांग्रेसभित्र पनि दाबी रहनु स्वभाविक हो । गठबन्धन बनेर अघि बढेपछि पार्टीको निर्देशन मान्नु पर्छ’, लामाले भनिन्, ‘कांग्रेसको माग जायज हुन सक्छ । तर, गठबन्धनको मर्मलाई बुझेर अगाडि बढ्नुपर्छ ।’मकवानपुरको १० स्थानीय तहमध्ये हेटौंडासहित अन्य तीन पालिका र वडामा गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन । मनहरी, मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा सहमति जुटेको छैन । मनहरीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले दाबी गरिरहेको छ भने भीमफेदी र मकवानपुरगढीको अध्यक्षमा कांग्रेस र माओवादीले दाबी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*