केन्द्रमा सहमति, हेटौंडामा कांग्रेस नगरको बिरोध

साझाकुरा
२०७९ बैशाख ८, बिहीबार १०:०८

हेटौंडा- केन्द्रीय सत्ता गठबन्धनका पाँच दलबीच हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति भएपनि स्थानीयस्तरमा कांग्रेसले बिरोध जनाएको छ ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले एकीकृत समाजवादीलाई मेयर दिए गठबन्धन तोड्ने चेतावनी दिएको छ । केन्द्रमा बसेर नेताहरुले भागबण्डामा बाँडफाँट गरेपनि हेटौंडामा गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस नगर समितिले केन्द्रीय सहमतिलाई नमान्ने भन्दै एक्लै निर्वाचनमा जाने चेतावनी दिएका हुन् । बुधवार सत्ता गठबन्धनका दलहरुबीच हेटौंडा उपमहानगरपालिकासहित देशभरका ११ वटा उपमहानगरपालिकाको भागबण्डामा सहमति जुटेको हो । बालुवाटारमा बसेको गठबन्धनको बैठकले भागबण्डामा सहमति जुटेपछि शीर्ष नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार नै उपमहानगरपालिकाको भागबण्डा टुंग्याउने गरी बैठक बसेपनि नेपालगञ्ज उपमहानगरमा सहमति हुन सकेको थिएन । नेपालगञ्जमा कांग्रेस र जसपाले दाबी गरिरहेको थियो । बुधवार नेपालगञ्ज कांग्रेसले पाउने सहमति बनेको हो ।

सहमतिअनुसार कांग्रेसले ६ महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ । कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको मेयर पाएको छ । माओवादी केन्द्रले भरतपुर महानगरपालिका, पोखरा महानगर एकीकृत समाजवादी र वीरगञ्ज महानगरको प्रमुख पद जसपाले पाउने सहमति भएको हो ।माओवादी केन्द्रले जीतपुर–सिमरा र घोराही उपमहानगर, हेटौंडा उपमहानगर एकीकृत समाजवादी र जनकपुर उपमहानगर जसपाले पाउने सहमति बनेपछि नेताहरुले हस्ताक्षर गरेका थिए । काठमाडौंस्थित प्रधानमन्त्री निवास बालुवाटारमा महानगर र उपमहानगरमा भागबण्डाले अन्तिम रुप लिइरहँदा हेटौंडा कांग्रेसले सहमति नमान्ने चेतावनी दिएको थियो । हेटौंडा–२ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस नगर सभापति उत्सव इटेनीले हेटौंडाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने गठबन्धनको निर्णय पुनरावलोकन गर्न नेतृत्वसँग माग गरेका छन् ।

एकीकृत समाजवादीलाई मेयर दिने गठबन्धनमा सहमति भएकोप्रति ध्यानाकर्षण भएको इटेनीले बताए । कांग्रेस उपमहानगर सभापति उत्सव इटेनीले नेतृत्वलाई निर्णय सच्याउन माग गरिएको बताएका छन् । उनले प्रधानमन्त्रीलगायत पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाई हेटौंडा उपमहानगरपालिकाको बस्तुगत अवस्थाबारे जानकारी गराइसकेको अवस्थामापनि बेवास्ता भएको जिकिर गरे । स्थानीयस्तरबाट दिइएको लिखित जानकारीलाई पन्छाउँदै मर्म र भावनालाई बेवास्ता गरेर पार्टीका कार्यकर्ता र शुभेच्छुकसमेतको मनोभावनामा ठेस पुग्ने गरी गठबन्धनमा सहमति भएको इटेनीले बताए । केन्द्रीयस्तरबाट भएको भागबण्डाले गठबन्धनको आवश्यकता र औचित्यसमेत पूरा गर्न नसक्ने उनको भनाइ छ ।

कांग्रेसले मेयर पद पाउने गरी गठबन्धन दलहरूबीच सहमति, सहकार्य र एकताको साथ अघि बढ्ने वातावरण तयार गरिदिन पार्टी नेतृत्वसमक्ष जोडदार माग गरिएको कांग्रेस नगर सचिव सविन न्यौपानेले जानकारी दिए ।गठबन्धनले निर्णय पुनरावलोकन नगरे सत्ता साझेदार दलहरुसँगको गठबन्धन तोड्ने चेतावनी नगर समितिले दिएको छ । कांग्रेस नगर समितिले मंगलबार बसेको बैठकबाट हेटौँडाको मेयरमा कांग्रेसबाहेक अन्य दललाई स्वीकार्न नसकिने निर्णय गरेको थियो ।हेटौंडामा कांग्रसले मेयर नपाए गठबन्धन छोडेर मित्रवत् प्रतिस्पर्धा मात्रै गर्ने निर्णय भएको न्यौपानेले बताए । यसैगरी, हेटौंडाको मेयरमा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष श्रीधर पोख्रेल र उपाध्यक्ष तथा वर्तमान उपमेयर मिनाकुमारी लामाको नाम सिफारिस भइसकेको छ । एकीकृत समाजवादीले गठबन्धनलाई विवाद रहित बनाएर लैजानु पर्नेमा जोड दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*