मकवानपुरमा राप्रपाको तालमेल गर्ने संकेत

साझाकुरा
२०७९ बैशाख ८, बिहीबार १०:२०

हेटौंडा – मकवानपुरमा राजेन्द्र लिङ्देन नेतृत्वको (राष्ट्रिय प्रजातन्त्र पार्टी) राप्रपा पनि चुनावी गठबन्धन गरेर अघि बढ्ने देखिएको छ ।मकवानपुरका अधिकांश स्थानीय तहमा राम्रो जनमत रहेको राप्रपाले तालमेल गरेर आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन लड्ने संकेत गरेको हो । तालमेल गरेर निर्वाचनमा होमिने तयारीअनुरुप राप्रपाले सत्ता साझेदार गठबन्धनका दल र नेकपा एमालेसँग छलफल गरिसकेको छ ।

राप्रपा नेता मधु अधिकारीका अनुसार मकवानपुरमा तालमेल गरेर निर्वाचनमा जान सक्ने आधारहरु तय हुँदै गएको बताएका छन् । साझाकुरासँग कुरा गर्दै अधिकारीले आगामी स्थानीय तहको निर्वाचनमा सत्तासिन गठबन्धन वा एमालेसँग तालमेल गरेर जाने भन्नेमा टुंगिनसकेको भन्दै तालमेलको सम्भावना बढेको बताएका हुन् । उनले नेकपा एमाले मकवानपुरसँग तालमेलबारे छलफल भएपनि टुंगो लागिनसकेको बताए । नेता अधिकारीले तालमेल गरेर जाँदा सत्ता साझेदार गठबन्धन दलहरुसँग हुने सम्भावना अधिक रहेको साझाकुरालाई जानकारी दिए । ‘हाम्रो छलफल पाँच दलीय गठबन्धन र एमालेसँग भएको छ । औपचारिकरुपमा नभएपनि अनौपचारिक रुपमा तालमेल गरेर जाने कुरामा छलफल भएको छ । तर, टुंगिसकेको छैन् । पाँच दलीय गठबन्धनसँग तालमेल गरेर अघि बढ्ने सम्भावना बढी छ’, अधिकारीले भने ।

तालमेल गर्दा राप्रपाले ठूलो भागबण्डा नखोज्ने पनि उनले बताए । ‘हामी धेरै भागबण्डा खोज्दैनौं । मकवानपुरकै अधिकांश पालिकामा हाम्रो मत जितका लागि निर्णायक हुन्छ । आवश्यकताअनुसार दावी गर्छौ’, अधिकारीले भने । उनले गत निर्वाचनमा प्राप्त मतका आधारमा राप्रपाको हेटौंडा उपमहानगरपालिकामा ७ हजार, मकवानपुरगढी गाउँपालिकामा एक हजार, बकैया गाउँपालिकामा १ हजार ६ सय, मनहरीमा १ हजार ७ सय मत रहेको भन्दै जितका लागि निर्णायक मत रहेको बताए । गणित हेर्दा राप्रपा कमजोर नभएकोले आवश्यकताअनुसार दावी रहने अधिकारीले स्पष्ट पारे ।

उनका अनुसार राप्रपाले तालमेल नगरे एक्लै निर्वाचनमा लड्ने तयारी पनि गरिरहेको छ । राप्रपा एक्लै निर्वाचन लडे अधिकारी नै मेयरको उम्मेदवार रहने सम्भावना छ । अधिकारी गत निर्वाचनमापनि राप्रपाबाट हेटौंडाको मेयरका उम्मेदवार थिए । हेटौंडामा एमालेका हरिबहादुर महत मेयरमा निर्वाचित हुँदा अधिकारीले ६ हजार ८ सय ५७ मत ल्याउँदै तेस्रो भएका थिए । अधिकारीले पछिल्लो समय राप्रपालाई आमजनताले रुचाइरहेको भन्दै मेयरमा बलियो दाबेदारी रहने बताए । ‘राप्रपा जनतामा लोकप्रिय बनेको छ । राजेन्द्र लिङ्देन र राप्रपाप्रति जनताले धेरै भरोसा गरेकालेपनि हेटौंडामा राप्रपा कमजोर छैन्’, अधिकारीले भने ।

यसैगरी, मनहरीका चन्द्रबहादुर पौडेल राप्रपाबाट मनहरी गाउँपालिकाको उम्मेदवार बन्ने भएका छन् । पौडेल आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मनहरीको अध्यक्षका उम्मेदवार बन्ने तयारीमा लागेका हुन् । ‘अध्यक्षको उम्मेदवारी रहने तयारी भइरहेपनि अहिले नै निश्चित भने भइनसकेको पौडेलले बताए ।पौडेल कांग्रेस परित्याग गर्दै राप्रपा प्रवेश गरेका नेता हुन् । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन मनहरी गाविसको ३ नम्बर वडाको वडा अध्यक्ष पदका उम्मेदवार बनेका थिए । गत निर्वाचनमा राप्रपाले मनहरीको अध्यक्षमा ८ सय १५ मत ल्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*