राप्रपाको दाबीमा एमाले मकवानपुरको असहमति

साझाकुरा
२०७९ बैशाख ९, शुक्रबार १२:०४

हेटौंडा- आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरका सत्तासाझेदार पाँच दलीय गठबन्धनबिरुद्ध एमालेले पनि राप्रपा नेपालसँग तालमेल गर्ने तयारी निर्वाचनमा एमालेसँग तालमेल गरेको राप्रपा नेपालले हेटौंडा र थाहा नगरको उपमेयरमा दाबी गरेको छ । तर, एमालेले राप्रपा नेपालको दाबी स्वीकार गरेको छैन । यसकारण एमाले र राप्रपा नेपालबीचको गठबन्धन पनि पेचिलो बन्दै गइरहेको छ ।

राप्रपा नेपालले एमालेसँग हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयर मागेको जनाइएको छ । राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले आफूहरुले हेटौंडा र थाहासहित अन्य ४ वटा गाउँपालिकाको उपप्रमुख र एउटा गाउँपालिकामा प्रमुख पदमा दाबी गरेको साझाकुरालाई जानकारी दिए ।

‘अहिलेसम्म हामी छलफलमा नै छौं । टुंगिसकेको छैन तर, हामीले हेटौंडा र थाहाको उपमेयर, बागमती गाउँपालिकाको अध्यक्ष र अन्य ४ वटा गाउँपालिकाको उपाध्यक्ष मागेका छौं’, उनले भने । सापकोटाले राप्रपा नेपालले एमालेसँग जिल्लामा रहेका १ सय २ वडामध्ये २५ देखि ३० वडासम्म पाउनुपर्ने माग पनि गरेको बताए । उनले आज शुक्रबार बस्ने बैठकले भागवण्डाको टुंगो लगाएपछि मात्रै उम्मेदबारको टुंगो लाग्ने पनि जनाएका छन् ।

राप्रपाका अध्यक्ष सापकोटा जिल्लाको ७ वटा पालिकाको नेतृत्वमा दाबी गरेको बताइरहँदा एमालेका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले भने राप्रपाले दाबी गरेकै कुरा स्वीकार्न चाहेनन् ।
उनले राप्रपालाई कुनैपनि पालिकाको प्रमुख वा उपप्रमुख दिन नसक्ने भन्दै राप्रपाले दाबीसमेत नगरेको बताए । उनले भने ‘राप्रपाले त्यस्तो कुनैपनि पालिका मागेको छैन, मागेपनि दिने सम्भावना छैन’, श्रेष्ठले सदस्यसमेत दिनेगरी छलफल
भइरहेको बताए ।

उनले राप्रपा र एमालेबीच भागवण्डामा कुनै समस्या नभएको भन्दै छिट्टै टुंगोमा पुग्ने दाबी गरे । राप्रपा नेपालका जिल्ला अध्यक्ष सापकोटाले भने आफूहरुले लिखित रुपमा नै एमालेसँग पालिका प्रमुख तथा उपप्रमुखमा दाबी गरेको बताइरहेका छन् । सापकोटाले मागेबमोजिम नभए पनि एमालेले भनेको कुरामा सहमत हुन नसक्ने बताए ।
केन्द्रबाट नै चुनावी तालमेल भएको भन्दै सापकोटाले सदस्यमा मात्रै मिलेर अगाडि कुनै हालतमा जान नसक्ने बताएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन आउन २१ दिन मात्रै बाँकी छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदबार बन्नेहरुलाई वैशाख १२ गते मनोनयन दर्ता गर्न निर्वाचन आयोगले मिति तय गरेको छ । तर, मनोनयन दर्ता गर्न ३ दिन मात्रै बाँकी हुँदा पनि गठबन्धन दलहरुमा भागबण्डा नै मिलिनसक्दा कुन पालिकामा को उम्मेदबार बन्ने भन्ने नै टुंगो लागेको छैन । पाँच दलीय गठबन्धनमा झन् भागवण्डा मिलाउन ठूलो सकस परेको छ । नेकपा एमालेले जिल्लाको १ सय २ वटै वडा र पालिकाहरुबाट उम्मेदबारको नाम सिफारिस गरिसकेको छ । द्रूत गतिमा उम्मेदबार टुंगो लगाउने गरी प्रक्रिया सुरु गरेको एमाले राप्रपा नेपालसँगको समीकरण पनि भने भागवण्डाको कारण उम्मेदवार चयन गर्ने प्रक्रियामा सुस्त बनेको छ ।

मकवानपुर राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला हो । २०७४ को स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणाम अनुसार मकवानपुरको सबैभन्दा ठूलो दल एमाले हो भने राप्रपा चौथो शक्तिका रुपमा छ । तर, राप्रपा फुटेर बनेको राप्रपा नेपालको शक्ति पहिचान भइसकेको छैन । गत निर्वाचनमा मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थियो ।

तर, अहिले राप्रपाका पूर्वअध्यक्ष कमल थापा राप्रपा छोडेर राप्रपा नेपालमा छन् । राप्रपा छोडेर राप्रपा नेपाललाई पुनर्जीवन दिएका थापाले गृहजिल्लामा नै नेता कार्यकर्ताको साथ राम्रोसँग पाएका छैनन् । त्यसमा पनि राजतन्त्र फर्काउने मुद्दा बोकेर राजनीति गर्दै आएका थापाले राप्रपा नेपालमा पुग्दा सो मुद्दालाई नै छाडेकाले मकवानपुरमा उनको पार्टी राप्रपा नेपालको प्रभाव कस्तो छ भन्न सक्ने अवस्था छैन । एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ भने राप्रपा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निस्किएको पार्टी हो ।

दुबै पार्टी विभाजनपछि पहिलोपटक चुनावमा भाग लिँदैछन् । त्यसैले यी दुबै पार्टीलाई एकअर्काको धेरथोर साथ पनि महत्वपूर्ण नै रहन्छ ।भोलि एमालेबाट हेटौंडाको मेयर टुंगो लाग्नेनेकपा एमालेले देशको ६ महानगर र हेटौंडा उपमहानगरपालिकासहित ११ उपमहानगरमा उम्मेदवारको नाम टुंगो लगाउने भएको छ ।

बिहीबार बालकोटमा बसेको एमाले सचिवालय बैठकले प्रदेश कमिटीले सिफारिस गरेको उम्मेदबारको नामावलीलाई १० वैशाखमा टुंगो लगाउने प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । हेटौंडा उपमहानगरमा मेयरका लागि एमालेले तीन जनाको नाम सिफारिस गरेको छ । जसमा संविधानसभा सदस्य अनन्त पौडेल, वर्तमान मेयर हरिबहादुर महत र गणेशकुमारी प्रधान छन् ।

एमाले नगर समितिको बैठकबाट ९ जना आकांक्षीमध्ये अन्तिम ३ जनाको नाम छनौट गरी जिल्ला समितिमा सिफारिस गरिएको थियो । हेटौंडाको उपमेयरका लागि आरती पाठक, सुमित्रा काफ्ले र इन्द्र नेपालको नाम सिफारिस भएको छ ।

गत निर्वाचनमा हेटौंडाको मेयर र उपमेयरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनका उम्मेदवारलाई एमालेका हरिबहादुर महत र मिनाकुमारी लामाले जितेका थिए ।
लामा, हाल एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा छन् । उनी एकीकृत समाजवादीबाट मेयरको दौडमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*