मनहरीमा पुगेर अड्कियो गठबन्धन

साझाकुरा
२०७९ बैशाख ९, शुक्रबार १२:०८

हेटौंडा- आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय नजिकिँदै गएपनि मकवानपुर गठबन्धनमा अझै भागबण्डा मिल्न सकेको छैन । लामो समयदेखि निरन्तर बसेको गठबन्धन बैठकले मकवानपुरका १० वटा पालिकामा सहमति जुटाउँदै आएपनि अन्ततः मनहरीमा अड्किएको छ । हेटौंडाको नेतृत्व कस्ले गर्ने भन्ने गठबन्धनभित्रको लडाईं सकिएसँगै मकवानपुरका अन्य पालिकामा गठबन्धन दलबीच भागबण्डा सहमतिनजिक पुगेको छ ।

गठबन्धनका पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चामध्ये हेटौंडाको मेयरमा कांग्रेस र एकीकृत समाजवादीले दाबी छाडेका थिएनन् । केन्द्रीय गठबन्धनबाटै हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिने सहमति भएसँगै मकवानपुरमा गठबन्धनभित्रको लडाइँं सकिएको छ । यद्यपि, हेटौंडाको मेयरलाई लिएर गठबन्धनलाई संयोजन गरिरहेको कांग्रेस मकवानपुरमा रडाको मच्चिएको छ । कांग्रेस बागमती प्रदेश नेतृत्व र जिल्ला नेतृत्वलाई बहुमत पदाधिकारी र हेटौंडा नगर समितिले चेतावनी दिइरहेको छ । केन्द्रीय गठबन्धनले हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिने भनेर गरेको निर्णय नमान्ने उनीहरुले चेतावनी दिएका छन् ।

कांग्रेस जिल्ला नेतृत्वले पार्टी निर्देशन मानेर अघि बढ्नुको विकल्प नभएको बताइरहेका बेला जिल्लाकै बहुमत पदाधिकारी र कांग्रेस नगर समितिले निर्णय पुनरावलोकन नभए एक्लै निर्वाचन लड्ने चेतावनी दिइरहेको हो ।यसैगरी, मकवानपुरका १० पालिकामध्ये १ नगरपालिका र ५ गाउँपालिकाको भागबण्डा टुंगिसकेको छ । जसमध्ये गत निर्वाचनमै जितेको आधारमा कांग्रेसले राक्सिराङ र बकैया गाउँपालिका, माओवादीले थाहा नगरपालिका र बागमती तथा एकीकृत समाजवादीले हेटौंडासहित कैलाश र इन्द्रसरोबर गाउँपालिका पाइसकेका छन् ।

बाँकी मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा सहमति हुन सकेको थिएन । तर, गठबन्धनभित्र भीमफेदी र मकवानपुरगढीको हकमा सहमति भइसकेको र मनहरी गाउँपालिकामा सहमति जुट्न नसकेको माओवादी केन्द्रका जिल्ला सचिव भीम पाख्रिनले जानकारी दिए । उनले मनहरीमा आएर अड्किएको बताए । मनहरीमा कांग्रेस र माओवादीले दाबी गरिरहेका छन् । सहमति हुन नसकेपछि बिहीवार कांग्रेस र माओवादी आ–आफ्नै आन्तरिक बैठकमा बसेका थिए । आज शुक्रबार मनहरीको हकमा सहमति हुने पाख्रिनले जानकारी दिए । तर, यसअघि मिल्न नसकेको भीमफेदी र मकवानपुरगढीमा भएको सहमति बाहिर ल्याउन नेताहरुले चाहेनन् ।

स्रोतका अनुसार भीमफेदी र मकवानपुरगढी कांग्रेसले लिएको छ । अन्तिममा गठबन्धनभित्र सहमति हेरफेर नभए कांग्रेसले ४ पालिका, माओवादी र एकीकृत समाजवादीले ३–३ वटा पालिका पाउने भएका छन् । तर, एकीकृत समाजवादीले कैलाश गाउँपालिका छोड्नु पर्नेमा कांग्रेस नेताहरुको भनाइ छ ।माओवादी केन्द्रले चार वटा पालिकामा उपाध्यक्ष माग गरेको छ । पालिकामा मात्र नभई वडाको भागबण्डामा पनि सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रले जिल्लाका १ सय २ वडामध्ये ४६ वटामा दाबी गरेपछि कांग्रेस हच्चिएको थियो । हाल माओवादी केन्द्रले ४४ वटा वडामा दाबी गरेको छ । तर, कांग्रेसले ४४ वटामा पनि सहमति नजनाएको कांग्रेसका एक पदाधिकारीले साझाकुरालाई जानकारी दिए । कांग्रेसले ७० वटा र एकीकृत समाजवादीले ३० वटा वडामा दाबी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*