चुनाव जिते वृद्धवृद्धा र असक्तलाई निःशुल्क उपचार

साझाकुरा
२०७९ बैशाख १०, शनिबार १४:०५

हेटौंडा- आगामी स्थानीय तहको निर्वाचन जितेमा मकवानपुरगढीका वृद्धवृद्धा, शारीरिकरुपमा अशक्त र १५ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार दिने एमालेले घोषणा गरेको छ । ३० वैशाखमा हुने निर्वाचनमा मकवानपुरगढीमा एमालेलाई निर्वाचन जिताए निःशुल्क उपचारदेखि प्रत्येक वडा र घरसम्म सडकको सहज पहुँच विस्तार गरिने घोषणा गरिएको छ । एमाले मकवानपुरगढी गाउँ कमिटीले शुक्रबार ‘मकवानपुरगढीको आर्थिक समृद्धिको आधार, सुशासन र विकासका लागि एमालेको स्थानीय सरकार’ भन्ने नारासहित स्थानीय सरकारमा आगामी पाँच वर्षमा गरिने कामको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको थियो ।

मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेबाट बिदूर हुमागाईं र उपाध्यक्षमा सन्तु थिङ सर्वसम्मत उम्मेदवार चयन भइसकेका छन् । एमाले बागमती प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना, एमाले मकवानपुरगढी गाउँपालिका कमिटीका अध्यक्ष रामजी सापकोटासहित अध्यक्षका उम्मेदवार हुमागाईं, उपाध्यक्षकी उम्मेदवार थिङलगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धता पत्रमा वृद्धवृद्धा, उच्च शिक्षा अध्ययनका लागि गाउँमै शैक्षिक संस्था स्थापना गरिने, सबै वडालाई प्रविधिमैत्री बनाई सेवा प्रवाहमा सहजता ल्याउने, विद्यार्थी दिवा खाजालाई थप व्यवस्थित गर्दै विस्तार गरिने, ६ नम्बर वडामा निर्माण भइरहेको अस्पताल आगामी आर्थिक वर्षमा सञ्चालन गरिने, हरेक वडा र घरसम्म सहज सडकको पहुँच बिस्तार गरिने उल्लेख गरिएको छ । यसैगरी, निर्माणधीन खानेपानी आयोजनालाई पूर्णता दिई दुई वर्षभित्र सबै घरमा खानेपानी पु¥याइने, मकवानपुरगढीमा ९५ प्रतिशत  घरमा बिजुली पुगेको र बाँकी घरमा एक वर्ष पु¥याइने र काठका पोल विस्थापित गरिने प्रतिबद्धता जनाइएको छ ।

सामरी पुलदेखि बुढीचौरसम्म डीपीआर भइसकेको बासुदेव मार्ग सडक निर्माणलाई पूर्णता दिइने, पालिकाभित्रका उद्यमलाई आवश्यक पर्ने थ्री फेज लाइन विस्तार गरिने, गाउँमा आवश्यकता अनुसार थप झोलुङ्गे पुल निर्माण गरिने एमालेले प्रतिबद्धता पत्रमा जनाएको छ ।प्रतिबद्धता पत्रमा वित्तीय पहुँच नभएका विपन्न वर्गका कुषकहरुलाई ५ वर्षका लागि स्थानीय तह, सहकारी, बैंक र सहजकर्ताबीच चौपक्षीय सम्झौता भएको किसान क्रेडिट कार्ड कार्यक्रम अझै प्रभावकारी बनाई लागू गर्ने, जग्गाविहीन सुकुम्वासी, भुमिहीन दलितलाई जग्गा उपलब्ध गराउने अव्यवस्थित बसोबासीहरुको जग्गा नापी गरी पूर्जा उपलब्ध गराउने कामलाई पुर्णता दिईने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*